विकास र समृिद्धको आधार नै शिक्षा ः प्रचण्ड

खैरहनी, १८ माघ

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिको मूल आधार शिक्षा रहेको बताएका छन् । शिक्षाविना कुनैपनि क्षेत्रको विकास नहुने भन्दै उनले शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने उनले बताए ।

पूर्वी चितवनको खैरहनी–१, ज्यामिरेमा रहेको कंकाली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि प्रभावकारी शिक्षा आवश्यक रहने बताए । “विकास र समृद्धिको आधार शिक्षा नै हो”, पूर्व प्रधानमन्त्री प्रचण्डले भने, “गरीब, निमुखा वर्गका विद्यार्थीले सहजरुपमा पठनपाठन गराउन शिक्षाको सुधार गर्दै गुणात्मक विकास गर्नुपर्छ ।”

उच्चस्तरीय शिक्षा आयोगको तर्फबाट भर्खरै एउटा प्रतिवेदन तयार पारेको जानकारी दिदै अब त्यसलाई विधेयकमा परिवर्तन गर्ने र संसद्बाट त्यसलाई पारित गरेर शिक्षा क्षेत्रमा सुधारको प्रयासमा सरकार लागेको उनले बताए । सामुदायिकमा गरीबका विद्यार्थीले सहज पढ्न पाउने गरी शिक्षाको सुधार भइरहेको पनि उनले बताए ।

निजी विद्यालय र सामुदायिक विद्यालयको खाडल पुर्नका लागि निजीलाई नियमन गर्दै लैजाने उनको भनाइ थियो । नयाँ र समृद्ध नेपाल बनाउन राष्ट्रिय एकता, सहमति र समझदारी आवश्यक रहने उनले बताए । सो अवसरमा उनले विद्यालयमा निर्माण गरिएको स्वर्ण प्रवेशद्वार र स्वर्ण स्तम्भको उद्घाटन गरेका छन् ।

पूर्व अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले सामुदायिक विद्यालयले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताए । “हाम्रो शिक्षा प्रणाली धेरै पछाडि छ”, पूर्व अर्थमन्त्री पाण्डेले भने, “किताबी ज्ञानबाहेक प्राविधिक शिक्षा प्रदान गरी सक्षम जनशक्ति उत्पादनमा लगानी बढाउनुपर्छ ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज शर्माको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक अञ्जना आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

स्वर्ण महोत्सवको अवसरमा शुक्रबार १८ गते पूर्व विद्यार्थी समाजको आयोजनामा सांस्कृतिक कार्यक्रम, १९ गते रक्तदान कार्यक्रम र स्रोत केन्द्रस्तरीय भलिबल प्रतियोगिता, २० गते भलिबल प्रतियोगिताको समापन हुने स्वर्ण महोत्सवका आर्थिक समिति संयोजक ज्ञानबहादुर बिसुरालले बताए । त्यस्तै माघ २१ गते विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, टोल सुधार समिति, आमा समूहको विविध खेलकुद कार्यक्रम, माघ २२ गते विद्यालयस्तरीय खेलकुद कार्यक्रम, २३ गते निबन्ध, कविता प्रतियोगिता, २४ गते पुरस्कार वितरण तथा सम्मान र २५ गते सम्मान एवं समापन कार्यक्रम रहने बिसुरालले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट