राप्ती, १८ माघ
चितवनको राप्ती नगरपालिका–६ की धनकुमारी थापाको हत्यारालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । राप्ती–६, मुडाभारीकी ५२ वर्षीया थापाको गत सोमबार राति नचिनेका व्यक्तिले विभत्स तरिकाले हत्या गरेको थियो । घटना भएको तीन दिन बितिसक्दासमेत हत्यारा पत्ता लगाउन नसकेकोमा थापाको परिवार र स्थानीयमा आक्रोस छाएको छ ।
थापाका पति पूर्णबहादुर थापाले घटनामा भएको तीन दिन भइसक्दासमेत प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको भन्दै गुनासो गरेका छन् । इन्डोनेसिया भ्रमणमा गएका पूर्ण घटना भएलगत्तै नेपाल फर्किएका थिए । हत्यारा पत्ता लगाउन हेटौंडाबाट तालिम प्राप्त कुकुर ल्याएपनि संलग्न पत्ता लगाउन सकेन । जिल्ला प्रहरी कार्यालयले भने थापाका घरमा काम गर्ने एक बालकसहित ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
पटक–पटक गरी ६ जनालाई नियन्त्रणमा लिइएको र उनीहरुसँग अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार घटनामा संलग्न अभियुक्त नजिक पुगिसकेको छ ।
नियन्त्रणमा लिइएकामध्यमै अभियुक्त रहेको र अरु पनि संलग्न हुन सक्ने भएकाले थप अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए । हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गर्न प्रहरीलाई चौतर्फी दबाब परेको छ । चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डे, प्रदेश ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेललगायतले प्रभावकारी अनुसन्धानबाट तत्काल हत्यारा पक्राउ गर्न दबाब दिइरहेका छन् ।




