रत्ननगर, १८ माघ
रत्ननगर नगरपालिकाभित्र रहेका सुकुमबासीको तथ्यांक संकलनको प्रक्रिया सुरु गरिएको छ । उनीहरुको व्यवस्थापनका लागि सूचनामा आधारित तथ्यांक संकलनको काम रत्ननगर नगरपालिकाले सुरु गरेको हो ।
तथ्यांक संकलनमा नगरपालिका, लुमन्ती आवासका लागि सहयोग समूह र युएन ह्याविट्याटले साझेदारी गरेर काम सुरु गरेका हुन् । बिहीबार यी तीन संस्थाबीच तथ्यांक संकलनका विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । वास्तविक सुकुमबासीको पहिचान गर्न आवश्यक प्रश्नावलीको विषयमा अन्तरक्रिया गरिएको हो ।
वास्तविक सुकुमबासी पत्ता लगाउन उनीहरुको पारिवारिक पृष्ठभूमि, स्थायी बसोवास र अन्य ठाउँमा जग्गा नभ÷भएको, बैंक ब्यालेन्सलगायतका विषयहरुको खोजी गरिने छ । अन्तरक्रिया कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले वास्तविक सुकुमबासीको पहिचान गरी उनीहरुको व्यवस्थापनका लागि तीन संस्थाबीच सहकार्य गरी काम सुरु गरिएको बताए ।
कार्यक्रममा उपमेयर विमला दुवाडी, लुमन्तीका अभिलेख अधिकृत अनन्त बज्राचार्यसहित वडाध्यक्ष, कार्यपालिका सदस्य तथा विपन्न समुदाय व्यवस्थापन मञ्चका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता थियो ।





