भरतपुर, १८ माघ
नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । बिहीबार राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरलगत्तै संघले आन्दोलनको घोषणा गरेको हो ।
डा. गोविन्द केसीको जीवन रक्षाका लागि गरिएको कार्यक्रमलाई बेवास्ता गरिएकोमा स्तब्ध भएको संघले बताएको छ । डा. केसी २३ दिनदेखि अनसनमा छन् भने उनको समर्थनमा संघले देशभर दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।
डा. केसीको जीवनरक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै चिकित्सक संघले शुक्रबार सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेजलगायत सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।
साथै, कडा कदम चाल्ने परिस्थिति सिर्जना नगर्न तथा वार्ताबाट समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरेको छ । अन्यथा आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चिकित्सक संघले डा. केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा रिले अनसन गरिरहेको छ ।
नेपाल चिकित्सक संघ केन्द्रले आन्दोलनका कार्यक्रम घोषणा गरेपनि चितवनमा भने चिकित्सकहरु निर्मम आन्दोलन गर्ने पक्षमा छैनन् । “डा. केसीको जीवन रक्षा हुनुपर्छ भन्नेमा हामी कटिबद्ध छौं”, नेपाल चिकित्सक संघ चितवनका सचिव डा. भोजराज अधिकारीले भने, “त्यसैका लागि जटिल बिरामीलाई असर नपर्ने गरी केन्द्रीय कार्यक्रम कार्यान्वयन गर्नेछौं ।”
यसैबीच अनसनरत डा.गोविन्द केसीको जीवन रक्षा गर्न अनुरोध गर्दै नेपाल चिकित्सक संघले पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई पत्र बुझाएको छ ।
बिहीबार भरतपुरमा नेपाल चिकित्सक संघ चितवन शाखाको पत्र संघका सचिव डा.भोजराज अधिकारीले दाहाललाई बुझाएका हुन् । पत्रमा संघका केन्द्रीय सदस्य डा.अनिलविक्रम कार्की र चितवन शाखा अध्यक्ष डा.प्रकाश खतिवडाले हस्ताक्षर गरेका छन् ।
“संघका आजीवन सदस्य प्राध्यापक डा.गोविन्द केसी विभिन्न माग राखेर १६ औँ पटक अनसन बसेको आज २२ औँ दिन भएको छ । उहाँको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको हुँदा जीवन रक्षाका लागि आवश्यक पहल गरिदिनुहुन अनुरोध छ”, पत्रमा उल्लेख छ । संघको यो पत्र सचिव डा. अधिकारीले भरतपुरमा आयोजित कार्यक्रममा सरिक भएर फर्कँदै गर्दा दाहाललाई गाडीमै बुझाएका हुन् ।





