कालिकामा सगुन महोत्सव

धु्रवराज खनाल

रत्ननगर, ९ कात्तिक

चितवनको कालिका नगरपालिकामा प्रथम सगुन महोत्सव बिहीबारदेखि सुरु भएको छ । स्थानीय सगुन विकास समाज र बरपीपल महिला विकास समाजको आयोजनामा कालिका–६, रेडक्रसग्रामस्थित आधारभूत विद्यालयको चौरमा महोत्सव सुरु भएको हो ।

महोत्सवको एक समारोहबीच प्रतिनिधिसभा सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री पाण्डेले मेला महोत्सवले आर्थिक विकास र व्यापार व्यवसायमा टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै उनले महोत्सवले आर्थिक गतिविधि बढाउने खालका क्रियाकलाप गर्नुपर्नेमा जोड दिए । “महोत्सवको नाममा महोत्सव गर्दा यहाँको ठूलो धनराशी विदेसिरहेको छ”, पाण्डेले भने, “मेला महोत्सवले स्थानीय वस्तुलाई नै प्राथमिकता दिदै आर्थिक गतिविधि बढाउन स्थानीय तहका प्रमुखलाई आग्रह गर्दछु ।”

नेता पाण्डेले राजनीतिक आन्दोलन समाप्त भइसकेकाले राजनीतिक क्षेत्रले अब गरीबी न्यूनीकरणतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । “लामो संर्घषपछि राजनीतिक संक्रमणको अन्त्य ग¥यौं”, पूर्वअर्थमन्त्री पाण्डेले भने, “अब राजनीतिक क्षेत्रले नै देशको गरीबी अन्त्यमा नेतृत्व गर्नुपर्छ ।” चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वअर्थमन्त्री पाण्डेले विदेशिएका युवालाई स्वदेश फिर्ता गराउन आम्दानीको स्रोत खोज्नुपर्नेमा जोड दिए । “नेपालका ४०–५० लाख युवा विदेशमा श्रम गर्न बाध्य छन्”, उनले भने, “स्वदेशमै आम्दानीको स्रोत खोजेर उनीहरुलाई फिर्ता ल्याउनुपर्छ ।”

नेपालमा अझै पनि करिब २३ प्रतिशत जनता बेरोजगार रहेको उनले बताए । देशको विकासका लागि उद्योगको योगदान बढाउनुपर्ने उनको तर्क थियो । “अहिले उद्योगको योगदान ८ प्रतिशत मात्रै छ, देशको आर्थिक वृद्धिका लागि यसको योगदान वढाउनुपर्छ”, उनले भने ।

महोत्सव मुल समारोह समितिका संयोजक केशव लामाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, प्रदेश सांसद् घनश्याम दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ गोपी, रत्ननगर नगरपालिकाका मेयर नारायण वन, कालिका–६ का वडाध्यक्ष विनोद रेग्मी, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, नेपाल कम्युनिष्ट पार्टीका रामध्वज डल्लाकोटी, जयचन्द्रप्रसाद चौधरी, नेपाली कांग्रेसका कमल आचार्य, राष्ट्रिय जनता पार्टीका प्रेमकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटनअघि कालिका नगरपालिकाको खोलेसिमलदेखि महोत्सवस्थलसम्म शोभायात्रा निकालिइएको थियो । ‘कृषि, पर्यटन, व्यापार, उद्योग, कला तथा संस्कृतिको प्रवद्र्धन गर्ने मूल आधार, स्वास्थ्यमा सबैको पहँुचको लागि हामी सबैको अधिकार’ मूल नाराका साथ कात्तिक १९ गतेसम्म चल्ने महोत्सवमा पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ ।

महोत्सवमा करिब १ सय ५० स्टल छन् । कालिका क्षेत्रको पर्यटकीय स्थल सिन्ती झरना, कालिका मन्दिर, चित्राम झरना, विभिन्न धार्मिक क्षेत्रहरु गुम्बा लगायत कृषि, व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको महोत्सवका सहसंयोजक सगुन विकास समाजका अध्यक्ष प्रेमकुमार श्रेष्ठले बताए । महोत्सवमा मुख्य आकर्षणको रुपमा यस क्षेत्रको पर्यटकीयस्थल सिन्ती झरना रहेको छ । महोत्सवस्थलमा नै सिन्ती झरनाको स्वरुप झल्काउने पानी बगेको झरना निर्माण गरिएको छ ।

करिव ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने छ । महोत्सवबाट करिव १० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ । महोत्सव प्रवेशका लागि ५० रुपैयाँको टिकट शुल्क कायम गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट