
रत्ननगर, ८ कात्तिक
रत्ननगर नगरपालिका–७ को वडा कार्यालयको बुधबार उद्घाटन गरिएको छ । साथै सोही वडा कार्यालयमा निर्माण गरिएको सामुदायिक पुस्तकालयको उद्घाटनसँगै चराचोकलाई फ्री वाईफाई क्षेत्र घोषणा गरिएको छ ।
चराचोकमा निर्माण गरिएको वडा कार्यालयको रत्ननगरका प्रमुख नारायण वन, सामुदायिक पुस्तकालयको उपप्रमुख विमला दुवाडी र फ्री वाईफाई सेवाको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुलाल रेग्मीले उद्घाटन गरेका हुन् । स्थानीय तहको निर्वाचनपछि मासिक १४ हजारमा घर भाडामा लिएर कार्यालय सञ्चालन गरिदै आएको थियो ।
आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ को ३२ लाखको लगानीका कार्यालय भवन निर्माण गरिएको वडाध्यक्ष लालबहादुर भट्टले जानकारी दिए । वडा कार्यालय भवनमै स्वर्गीय हस्तबहादुर भट्टराई प्रतिष्ठानले सामुदायिक पुस्तकालयसमेत सञ्चालनमा ल्याइएको हो । वडा कार्यालयले रेखदेखमा सञ्चालन गर्ने गरी प्रतिष्ठानका संरक्षक रामकुमार भट्टराईले करिब ३ लाख रुपैयाँको लगानीमा पुस्तकालय निर्माण गरेका हुन् ।
कार्यक्रममा गैंडाको आक्रमणबाट ज्यान गुमाएकी स्थानीय मोतीमाया तामाङका पति सेल दोर्जे तामाङलाई समाजसेवी तथा व्यवसायी कृष्ण भट्टले छोरी एञ्जिला भट्टको स्मृतिमा २५ हजार रुपैयाँ राहत प्रदान गरेका थिए । कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान दिएका ध्रुव गिरी, रामकुमार भट्टराई, गोविन्दप्रसाद पाण्डे, जनक पौडेल, रामकाजी अधिकारी, कृष्ण भट्ट र हरिभक्त घिरिमेलाई सम्मान गरिएको थियो ।
सो अवसरमा वडा नम्बर २ का वडाध्यक्ष तिलकराज शर्मा, वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण महतो, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासुदेव ढुंगाना, क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरे, रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी, मृगकुञ्ज सहकारीका सचिव विन्दा कार्की, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विपी चौधरी, नेकपाका जंगिलाल चौधरी, नेपाली कांग्रेसका कञ्चनकुमार चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।





