भरतपुर, ८ कात्तिक
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले आस्तिक र नास्तिक दुवै पक्षका लागि मौलाकालिका मन्दिरको महत्व अथाह रहेको बताएका छन् । बुधबार धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले आयोजना गरेको विजयादशमी, शुभ दीपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा उनले आस्था र स्वास्थ्यलगायत बहुपक्षीय महत्व रहेको बताए ।
“गण्डकी प्रदेशअन्तर्गतका मुक्तिनाथदेखि मौलाकालिका, लुम्बिनीदेखि रामग्रामजस्ता ऐतिहासिक पुरातात्विक सम्पदाको एकीकृत विकासको लागि स्थानीय सरकारको समन्वयमा गुरुयोजना तयार गर्नुपर्छ”, उनले भने, “गुरुयोजनालाई कार्यान्वयन गर्न केन्द्र सरकारले सहयोग गर्छ ।”
नवलपुरबासीलाई आफ्नै प्रदेश राजधानी जाँदा आउँदा अन्य प्रदेशका बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने उनले बताए । कालिगण्डकी करिडोरको बाटो हुँदै पोखरा जान सकिने गरी काम भइरहेको र सो कार्यलाई छिटो गर्न पहल गर्ने उनको प्रतिबद्धता छ । हाल नवलपुरबासी प्रदेश–३ को चितवन र प्रदेश ५ को बुटवल हुँदै पोखरा जानुपर्ने अवस्था छ ।
संघीय कानून नबन्दा केही आप्ठ्यारो भएको महसु गरेको जनाउँदै उनले हिउँदे अधिवेशनमा छिटोभन्दा छिटो बनाएर स्थानीय सरकारलाई चुस्त–दुरुस्त काम गर्ने गरी वातावरण बनाउने बताए ।
कार्यक्रममा प्रतिनिधिसभाका लागि नवलपुरका सांसद् तिलक महतले स्थानीय सरकारले बजेट बनाउँदा मौलाकालिका मन्दिरलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । गण्डकी प्रदेश चिनाउने मौलाकालिका मन्दिरको धार्मिक पर्यटन प्रवद्र्धनका लागि केन्द्र सरकारमा आवाज उठाउने बताए ।
गण्डकी प्रदेशका सांसद् रोशनबहादुर गाहा मगरले मुक्तिनाथबाट पोखरा हुँदै मौलाकालिका र मणिमुकुन्द सेनबाट गजेन्द्र मोक्षधामलगायतको विकासको लागि गुरुयोजना बनाउने गरी प्रदेश सरकारले काम गरिरहेको बताए । गैंडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कँडेलले मौलाकालिका मन्दिरको विकासका लागि नगरपालिकाले सहयोग गरिरहेको बताइन् । उनले मौलाकालिका, मुकुन्दसेन र कैलाश संन्यास आश्रमको संयुक्तरुपमा विकास गर्न आवश्यक रहेको बताउँदै राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि तथा प्रदेश सांसद्को ध्यानाकर्षण गराइन् ।





