‘दशैँ दशा नहोस्’

विप्लव काफ्ले
भरतपुर, २९ असोज ।
खानामा खसीको मासु खाने र ठूलाबाट आशीर्वाद लिने पर्वका रुपमा दशैंलाई लिइन्छ । अधिकांशका घर–घरमा फूलपातीदेखि पूर्णिमासम्म मासुका परिकार पाक्छन् । अन्य दिनको तुलनामा दशैंका बेला धेरै मासु घर–घरमा खपत हुन्छ ।
यो बेला माछा तथा कुखुराको मासुको तुलनामा खसीबोकाको मासु बढी खपत हुन्छ ।

भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारी ‘मासु खान दशंै पर्खने’ चलन नभएपनि यो बेला बढी खपत हुने गरेको बताउँछन् । “फूलपातीमा काटेको मासु ९ दिनसम्म राखेर खानु स्वास्थ्यका दृष्टिले राम्रो होइन”, उनले भने, “आफन्त तथा पाहुनाको स्वागतका लागि बासी मासु खुवाउँदा स्वास्थ्य बिग्रन्छ भन्ने चेतना विस्तार गर्नु जरुरी बनेको छ ।” उनले धेरै दिनको बासी मासु फ्रीजमै राखेको भएपनि स्वास्थ्यका दृष्टिले उपयुक्त नहुने बताए । “पटक–पटक तेल राखेर भुटिरहनुपर्छ, जसले चिल्लोपना बढाउँछ”, उनले भने, “सालमोनेला किटाणु बढ्छ, ‘इन्फेक्सन’ बढ्छ, अपच हुने, पखला लाग्ने, वान्ता हुने जस्ता समस्या देखापर्छन् ।”
डा. अधिकारी सकेसम्म रातो मासु (खसीबोका, राँगा, बंगुर, भेडाको मासु) नखाएकै राम्रो हुने बताउँछन् । “रातो मासुमा कडा प्रोटिन हुन्छ, पचाउन पनि गारो हुन्छ”, उनले भने, “पचाउने बहानामा चिसो तथा अन्य पेयपदार्थ लिदा झनै स्वास्थ्य बिग्रन्छ ।” समूहमा मिलेर खसीबोका काट्ने, १÷२ दिनभन्दा बढी पुग्ने मासु नराख्ने, सकेसम्म ताजा मासु खान सुझाए । “गर्मीजस्तै सिजनमा दशै छ, फुड पोइजन हुने उच्च सम्भावना छ”, उनले भने, “मासु भन्दा सात्वीक भोजनमा जोड दिनुपर्छ, जसले शरिरलाई फाइदा गर्छ ।”
नारायणी सामुदायिक अस्पतालका फिजिसियन डा. किशोर गौतमले दशंैलाई मासुको पर्यावाचीका रुपमा लिन नहुने बताए । “मासु खानै नहुने भन्ने होइन, तर हरेक दिन रातो मासु प्रशस्तै खानु गलत हो”, उनले भने, “कुखुरा, माछाको मासु खानु राम्रो हुन्छ, जुन धेरै दिन ‘स्टक’ राख्नुपर्दैन ।” उनले मासु खानेभन्दा शाकाहारी खाने व्यक्ति स्वस्थ्य रहने बताए । “प्रोटिन शरिरलाई अतिआवश्यक भएपनि धेरै हुने गरी मासु खाएमा हानी गर्छ”, उनले भने, “ दैनिक करिब ५६ ग्राम प्रोटिन भए पुग्छ, तर रातो मासुमा ज्यादा प्रोटिन हुन्छ, जसले फाइदा भन्दा बढी वेफाइदा गर्छ ।”
कोलेस्ट्रोल भएका, मुटु रोगी, युरिक एसिड, ब्लड प्रेसर उच्च भएको व्यक्तिले रातो मासु खानु उपयुक्त हुँदैन । “मासु पोलेर खादा क्यान्सर हुने सम्भावना बढ्छ”, डा. गौतमले भने, “लगातार पोलेको मासु, सेकुवा खाएमा पेट तथा आन्द्राको क्यान्सर हुनसक्छ ।” बोसो हटाएर सिमित मात्रामा मात्रै ताजा मासु खानु राम्रो हुने उनको भनाइ छ । सेतो मासुको तुलनमा रातो मासुमा प्रोटिनको मात्रा बढी हुन्छ ।
खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थ भएमात्रै खाने प्रचलन नभएकाले राम्रोसँग नपाकेको मासुमा भएका किटाणु सजिलै शरीरभित्र पसेर बिरामी हुने गर्छ । दशंैका बेला खानपीनकै तालमेल नहुँदा करिब ३० प्रतिशत बिरामी अस्पताल भर्ना हुन्छन् । चाडबाड मनाउने बहानामा मादक पदार्थ सेवन गर्नाले पारिवार, समाजमा झैझगडा, कुटपिट हुने, सवारी दुर्घटनामा पर्ने सम्भावना बढ्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट