भरतपुर, २९ असोज
तीनपाङ्ग्रे मजदुरको आन्दोलनमा गोली लागी घाइते भएका महेन्द्र सुनार ८१ दिने उपचारपछि घर फर्केका छन् । गत साउन ९ गते भरतपुर केन्द्रीय बसपार्कचोकमा भएको झडपमा प्रहरीको गोली लागी घुँडामुनि गम्भीर चोट लागेका तनहुँको भिमाद नगरपालिका–७ घर भई हाल गैंडाकोट–४ बस्ने सुनारको भरतपुरको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार गरिएको हो ।
३० वर्षीय सुनारको स्वास्थ्य अवस्थामा धेरै नै सुधार आएको र अब उनले घरमै बसेर पनि स्वास्थ्य लाभ लिन सक्ने भएकाले डिस्चार्ज गरिएको अस्पतालका अर्थोपेडिक सर्जन डा. प्रमोद लामिछानेले बताए । थप उपचारका लागि समय–समयमा फलोअप आउनुपर्ने डा.लामिछानेले बताए । “सुरुमा देख्दा निकै खतरनाक चोट थियो”, उनले भने, “तर, छिटै राम्रो अवस्थामा आएको छ ।”
उनको उपचार खर्च भरतपुर महानगरले तिर्ने सहमति भएको छ । भरतपुर महानगरपालिकाले तीनपाङ्ग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि आन्दोलनमा उत्रिएका रिक्सा मजदुर र प्रहरीबीच साउन ९ गते भरतपुर केन्द्रीय वसपार्कमा गोली, ढुंगा र अश्रुग्याँस हानाहान भएको थियो । यस घटनामा परी २ प्रहरी निरीक्षकसहित १८ प्रहरी र २ जना अटो रिक्सा मजदुर घाइते भएका थिए ।




