प्रमिता ढकाल/कायाकैरन
भरतपुर,२३ असोज ।पाँच कोठाको आवासीय भवन । एउटा भान्सा । एउटा अध्ययन कक्ष । स–साना तीन वटा सुत्ने कोठा । ती कोठामा मिलाएर राखिएका तले खाट । दिनभरि पढेलेखेर राति सुत्नेबेला यी खाटको माथिल्लो तहमा आंशिक दृष्टि भएका विद्यार्थी उक्लिन्छन् । तल्लो तहमा ठ्याम्मै नदेख्ने विद्यार्थीहरु सुस्ताउँछन् । नारायणी माध्यमिक विद्यालयको दृष्टिविहीन इकाईको दृश्य हुन् यी ।
साना उमेरका बालबालिकाको सहयोगको लागि विद्यालयले आयाको व्यवस्था गरेको छ । किशोरीहरुको साथमा पनि एक जना आया सधैं रहन्छिन् । आंशिक दृष्टि भएका विद्यार्थी आफ्ना पूर्ण दृष्टिविहीन साथीका सहयोगीसमेत बनिदिन्छन् ।
कक्षा दशमा अध्ययन गररिहेकी देवीसरा थापा पूर्ण दृष्टिविहीन हुन् । उनलाई उनका आंशिक दृष्टि देख्ने साथी प्रतिमा महतो र किरण पन्तले अध्ययन र खेलकुदमा पनि सहयोग गर्छन् । पछिल्लो समय पाठ्क्रममा किताबहरु ब्रेललिपिमा पनि आउन थालेपछि अध्ययन गर्न थप सहज भएको देवीसराले बताइन् ।
विद्यालयमा हाल ३० जना नेत्रहीन विद्यार्थी आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् । ब्रेललिपि सिक्नेदेखि एसईईको तयारीमा पुगेकासम्म यो इकाईमा आवासीय सुविधासहित अध्ययन गर्दैछन् । विद्यार्थीको चाप बढ्दै गएपछि आवासमा असुविधा भएको छ । “विद्यार्थीलाई अध्ययन तथा खेल सामग्री, खाद्यान्नजस्ता स्रोत समय–समयमा दाताहरुबाट समेत जुट्ने गरेकाले समस्या छैन,” विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले भने, “तर पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएकाले बसोबास र लत्ताकपडाको व्यवस्थापनमा समस्या हुन थालेको छ ।”
विद्यालयले दृष्टिविहीन इकाईका लागि छुट्टै भवन निर्माण गर्दैछ । एक करोड ६६ लाखको लागत अनुमान गरी भवन निर्माण कार्य सुरु गरिएको हो । भवन निर्माण गर्न नेपाल सरकारले ८३ लाख अनुदान रकम उपलब्ध गराएको छ । हाल भुइँ तलामा ५ कोठा र पहिलो तलामा ५ कोठा निर्माण सक्ने गरी काम अघि बढाइएपनि रकम अभावका कारण रोकिएको विद्यालयका प्रधानाध्यापक दवाडीले बताए । “भवन निर्माणको लागि कुनै नियमित स्रोत छैन, सरकारले दिएको अनुदान सकियो अब विद्यार्थीको सुविधाका लागि जसरी पनि भवन निर्माण सक्नुपर्ने छ”, प्रधानाध्यापक दवाडीले भने, “हामी चन्दा संकलन गरेरै भए पनि काम पूरा गर्नेछौं ।”
भवनको भुइँतलालाई व्यावसायिक प्रयोजनमा प्रयोग गर्न सटर कोठा निकाल्ने विद्यालयको योजना छ । माथिका पाँच कोठालाई आवासका लागि मात्र प्रयोग गर्ने तयारी छ । आवासको राम्रो सुविधा नहुँदा फर्किएका धेरै विद्यार्थी समेट्न सहज हुने विद्यालयको अपेक्षा छ । योजना सार्थक बन्दै गए पाँच तलासम्म निर्माण गर्ने योजना रहेको प्रधानाध्यापक दवाडीले बताए ।
विद्यालयको दृष्टिविहीन इकाईमा आँखा जाँच शिविर लिएर आउने क्रममा धेरै समस्या देखेपनि भरतपुर आँखा अस्पतालका सहायक प्रबन्धक छायाँ श्रेष्ठले पहल गरी अक्षयकोष स्थापना भएको छ । अष्ट्रेलियामा रहेका श्रेष्ठका भाइ रोशन श्रेष्ठ र बुहारी शुलक्षणा सापकोटाले ५० हजार रकम सहयोग उपलब्ध गराएपछि दृष्टिविहीन इकाईको नाममा अक्षयकोष स्थापना गर्न सम्भव भएको हो । सो समयमा ब्रिटिस वेलफेयर सोसाइटीले उपलब्ध गराएको २० हजारसहित ७० हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको श्रेष्ठले बताइन् ।

त्यसयता विभिन्न सहयोगी हातको अग्रसरताकै कारण अक्षयकोषको रकम वृद्धि भई ४ लाख बढी जम्मा भइसकेको छ । अक्षयकोषको ब्याज रकमले दृष्टिविहीन इकाईका विद्यार्थीलाई खाद्यान्न, स्रोत शिक्षक व्यवस्थापन, कर्मचारी व्यवस्थापनजस्ता क्षेत्रमा सहज भएको छ ।
गत आइतबार पनि अक्षयकोषका लागि बिउ पुँजी उपलब्ध गराएका रोशन र उनकी पत्नी शुलक्षणाले नेपाल आएको समय पारेर विद्यालयका दृष्टिविहीन बालबालिकासँग जन्मदिन मनाए । विद्यालयमा व्यवस्थापकीय समस्याबारे जानकार उनीहरुले श्रीमती शुलक्षणाको जन्मदिन पारेर इकाईका विद्यार्थीको आवश्यकताअनुसार २७ थान तन्ना उपलब्ध गराए । उनीहरुले आफ्नो सहयोग सधैं रहनेसमेत प्रतिबद्धता जनाएका छन् ।
चितवनमै पहिलो पटक वि.सं. २०५६ सालमा दृष्टिविहीन इकाई सञ्चालन गरेको नारायणी मा.वि.बाट हालसम्म २९ जना दृष्टिविहीन विद्यार्थीले विद्यालय तहको शिक्षा उत्कृष्ट अंकसहित पूरा गरिसकेका छन् । विद्यलयलमा अध्ययन पूरा गरेका सागर चौधरी अहिले सोही विद्यालयमा दृष्टिविहीन इकाईका स्रोत शिक्षकका रुपमा कार्यरत छन् । उनी जस्ता अन्य विद्यार्थी शिक्षण पेशा र विदेशमा उच्च तह अध्ययनको क्रममा विद्यावारिधीसमेत गरिरहेका छन् । विद्यार्थीको प्रगतिकै कारण अन्य विद्यार्थीलाई समेत समेट्न सक्ने गरी पूर्वाधार तयार गर्नुपर्ने आवश्यकता महसुस गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाले बताए ।





