प्रमिता ढकाल/कायाकैरन
भरतपुर,१८ असोज ।आँखाको नानी प्रत्यारोपण चितवनमै सम्भव भएपछि सेवाग्राही लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर अाँखा अस्पतालमा १५ महिनामा ४० जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ ।
अस्पतालका चिकित्सक डा. पुष्पा गिरीले भारतको अरविन्द आँखा अस्पतालबाट एक वर्षे अध्ययन पूरा गरेर आएपछि २०७४ जेठयता ४० जनाको आँखाको नानी प्रत्यारोपण गरिएको हो । ‘पेनेट्रेसन के¥याटोप्लाष्टी’ (पि.के.पी) सेवा अर्थात आँखाको नानी प्रत्यारोपण दुई प्रकारका हुन्छन् । अप्टिकल (दृष्टिका लागि) र ‘थेराप्यूटिक पेनेट्रेटिङ के¥याटोप्लाष्टी’ अर्थात कस्मेटिक (सौन्दर्यका लागि मात्र जसमा दृष्टि सम्भव हुँदैन) । यी दुवै उद्देश्यले आँखाको नानी प्रत्यारोपणका लागि सेवाग्राही आउने गरेको कर्निया (नानी) विशेषज्ञ डा. गिरीले बताइन् । नानीमा फुलो परेको, चोट लागेर आँखाको नशा नै बिग्री पुनः दृष्टि सम्भव नभएकाहरु थेराप्यूटिक पेनेट्रेटिङ के¥याटोप्लाष्टी अर्थात कस्मेटिक सेवा लिने गर्छन्, जसले आँखालाई सुन्दर देखाउने काम गर्छ ।
तर, नशाले काम गरेको खण्डमा अप्टिकल सेवा दिइन्छ, जसकारण पुनः दृष्टि सम्भव हुन्छ । भरतपुर आँखा अस्पतालमा डा. गिरीले आँखाको नानी प्रत्यारोपण गरी १५ वर्षका बालकदेखि ७२ वर्षीया महिलासम्मका ४० जनाले दृष्टि पाएका छन् । अस्पतालमा आँखाको नानी प्रत्यारोपण गराउनेमा ५० प्रतिशत भारतीय नागरिक रहेको नानीरोग विशेषज्ञ डा. पुष्पा गिरीले बताइन् ।
“नेपालमा आँखासम्बन्धी जुनसुकै उपचार सेवा गुणस्तरीयसँगै सस्तो पनि छ”, उनले भनिन्, “चितवनमा नानी प्रत्यारोपणको समेत सेवा सुरु भएपछि छिमेकी मुलुक भारतबाट समेत आउने बढेका छन् ।” भरतपुर आँखा अस्पतालमा नै आँखाको नानी प्रत्यारोपण सम्भव भएपछि गतवर्षको कात्तिकमा आँखा बैंक स्थापना गरिएको छ । भीमराज उषामाया पाठक आँखा बैंकको स्थापना गरी चितवनमा नै नानी संकलन गर्न सुरु गरिएको छ ।
नेपाल नेत्रज्योति संघअन्तर्गत रहने गरी छुट्टै इकाईका रुपमा सेवा सुरु गरिएको संयोजक प्रभातकुमार जोशीले जानकारी दिए । पाठक दम्पत्तीको नाममा रहने गरी डेढ करोडको सहयोग उपलब्ध गराउने भएपछि सुरु गरिएको आँखा बैंकको अक्षयकोषमा हाल २० लाख जम्मा भएको छ । पाठक दम्पत्तीले छिट्टै रकम उपलब्ध गराउने बताएको संयोजक जोशीले जानकारी दिए । अक्षयकोषमै रहने गरी चितवन सहायता समाज (क्याट)बेलायतको ११ लाख रुपैयाँ थप सहयोग प्राप्त भएको छ ।
अस्पतालका एक प्राविधिकले काठमाडौंको तिलगंगा अस्पतालबाट आँखाको नानी झिक्ने तरिका सिकेर आएका छन् । गतवर्ष कात्तिक २५ गते आँखा बैंक स्थापना भएयता ३ जनाको आँखाको नानी संकलन भइसकेको छ । हालसम्म २ सय ३२ जनाले आँखा दान गर्नका लागि नाम टिपाएका छन् । आँखा दान गर्ने व्यक्तिको निधन भएको ६ देखि ८ घण्टाभित्रमा नानी झिक्न सकेमात्र त्यो उपयोगमा आउँछ ।
झिकिएको नानीलाई कर्निसोल नामक झोलमा राखेर काठमाडौंको तिलगंगा अस्पतालमा पठाइन्छ । प्रत्येक नानी संकलन गरी काठमाडौं पठाउँदा अस्पतालले ६ हजार रुपैयाँ प्रक्रियागत खर्च व्यहोर्ने गरेको संयोजक जोशीले बताए । “अस्पतालमै संकलन गरेर लामो समय राख्न सके यो खर्च कम हुन सक्थ्यो”, उनले भने, “यो पूर्णतः सेवाभावको काम हो, सेवा विस्तार हुँदै गएपछि दातृ निकायसँगको पहलमा संकलित नानी चितवनमा नै राख्न व्यवस्थित उपकरण खरिद गर्ने प्रक्रिया सुरु गरिने छ ।”
नेपाल आँखा बैंक तिलगंगा आँखा अस्पतालसँग सम्झौता गरी काम सुरु गरेपछि नानी संकलनका लागि आँखा अस्पतालले दुई वटा मेडिकल कलेज र भरतपुर अस्पतालसँग समन्वय गरेको अस्पतालका प्रबन्धक दयाराम चौधरीले बताए । यद्यपि नियमित फलोअप हुन नसक्दा सोचेअनुरुप आँखाको नानी संकलन गर्न नसकिएको उनले बताए । “सर्वसाधारणलाई आँखा दानसम्बन्धी पर्याप्त सचेत पार्न सकिएको छैन”, उनले भने, “परामर्शदाता कर्मचारी राखेर आँखा दान गर्न प्रेरित गर्न आवश्यक छ ।”
हाल अस्पतालमा नानी निकाल्ने कर्मचारी अभाव छ । थप तीन जना कर्मचारीलाई नानी निकाल्ने प्रशिक्षण दिएर काम अघि बढाउने अस्पतालको तयारी छ । अस्पतालले आगामी दिनमा आँखा दान गर्न प्रेरित गर्ने उद्देश्यले आँखा दान गर्ने व्यक्तिको घरमा स्टीकर टाँस गर्ने, दान दिएका परिवारलाई सम्मान गर्नेजस्ता कार्यक्रम ल्याउने तयारी गरिरहेको उनले बताए ।
भरतपुर अाँखा अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन अस्पतालले अप्टिकल ग्राइन्डिङ मेसिन ल्याउने तयारी गरीरहेको छ । एक करोड २० लाख गर्ने मेसिन भित्राउन टेण्डर आह्वान गरिसकेको नेपाल नेत्रज्योति संघका केन्द्रीय कोषध्यक्ष चिजकुमार मास्केले जानकारी दिए । “नेपाल नेत्रज्योति संघको ४० प्रतिशत, आँखा अस्पतालको ४० र कर्मचारीको २० प्रतिशत लगानी रहने गरी मेसिन खरिदका लागि प्रक्रिया अघि बढाइएको छ”, उनले भने ।
चस्मामा कम्पाउण्ड (अप्ठेरो खाले) पावर राख्नका लागि मेसिन खरिद गर्न लागिएको हो । हालसम्म आफ्नै स्रोत र दातृ निकायको सहयोगबाट सेवा दिंदै आएको अस्पतालले सेवालाई थप प्रभाकारी बनाउन स्थानीय सरकारसँग समन्वय गर्न पहल गर्ने तयारीसमेत गरिरहेको संघका चितवन अध्यक्ष कृष्णराज धरेलले बताए । अस्पतालले आगामी असोज २५ गते विविध कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाउने तयारी गरेको छ ।





