धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,१३ असोज ।सरकारले चितवनसहित देशका ६ वटा जिल्लामा गाई वंश सुधार कार्यक्रम सञ्चालन गरेको छ । २०७० सालदेखि यो कार्यक्रम स्थगित थियो । २०६५ सालदेखी पाँच वर्ष कार्यक्रम सञ्चालन भएपनि विविध कारणले निरन्तरता पाउन सकेको थिएन् ।
राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका वरिष्ठ पशु विकास अधिकृत शिवनाथ महतोका अनुसार चालु आर्थिक वर्षको साउनदेखी गाई वंश सुधार कार्यक्रम सुरु भएको हो । चितवनसहित नवलपरासी, रुपन्देही, गोर्खा, तनहँु र कास्की जिल्लामा यो कार्यक्रम पुनः सञ्चालन भएको महतोले बताए । “गाइपालन व्यवसायलाई दिगो र किसानको आर्थिक वृद्धी गर्न वंश सुधार कार्यक्रम फेरी ल्याएका छौँ”, वरिष्ठ पशु विकास अधिकृत महतोले भने, “दुग्ध क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्यलाई पुरा गर्न सरकार प्रतिवद्ध छ ।” यो कार्यक्रमका लागि सरकारले युरोप र अमेरिकाबाट बीज ल्याएको छ ।
जनप्रतिनिधिसँग किसानको अन्र्तक्रिया
दुग्ध उत्पादक किसानहरु र रत्ननगरका जनप्रतिनिधीहरुबीच दूध उत्पादनको वर्तमान अवस्था र रत्ननगर नगरपालिकाको भावी योजनाबारे अन्र्तक्रिया कार्यक्रम गरिएको छ । व्यवसायिक पशुपालक कृषक समाज रत्ननगर र दुग्ध उत्पादक सहकारी संस्था नगर समन्वय समितिको सयुक्त आयोजनामा जनप्रतिनिधीसंग अन्र्तक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा अगुवा किसानहरुले दुधको उत्पादन बढाउन गोठ सुधार, अनुदान र औषधी उपचारको व्यवस्थापन हुनुपर्ने बताए । व्यवसायिक पशुपालक कृषक समाजका अध्यक्ष किशोर बगालेले गोठ सुधार, अनुदान र औषधि उपचारको व्यवस्थापन नगरपालिकाले गर्नुपर्ने बताए । नगर भित्रका पशुपालक किसानहरुले नगरपालिका प्रति भरोसा गरेको भन्दै उनले पशुपालनको विकासको लागि नगरपालिका गम्भीर हुन आवश्यक रहेको बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले छाडा पशुको व्यवस्थापन र बाझोपन निवारणको लागि नगरपालिकाले अस्पताल सहितको गौशाला निर्माण गर्ने बताइन ।
पशुपालनको क्षेत्रमा देशभरका नगरपालिका मध्ये रत्ननगरले उदाहरणिय काम गरेको स्मरण गर्दै उपप्रमुख दुवाडीले किसानको हितमा सधै लाग्ने प्रतिवद्धता जनाइन् । सो अवसरमा नगरपालिकाको पशु विकास शाखा प्रमुख शालिकराम पौडेलले चालु आर्थिक वर्षमा पशुपालनका क्षेत्रमा विनियोजित बजेट र कार्यक्रमबारे जानकारी गराएका थिए । व्यवसायिक पशुपालक कृषक समाज रत्ननगरका अध्यक्ष वगालेका अनुसार रत्ननगरमा करिव ९० वटा व्यवसायिक फर्म रहेका छन् भने दैनिक ४५ हजार लिटर दुग्ध उत्पादन हुने गरेको छ । समाजका अध्यक्ष वगालेको अध्यक्षतामा भएको सो कार्यक्रममा वडाध्यक्षहरु गुप्तनाथ भट्टराई,दुग्ध उत्पादक सहकारी संस्था नगर समन्वय समितिका अध्यक्ष शिवकान्त पौडेललगायतले आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रम लागु भएका जिल्लामा गाइको रेकर्ड संकलन, दूध उत्पादनको अवस्थाका बारे लगत संकलन भइरहेको र त्यसैको आधारमा किसानको गाईलाई बीज उपलव्ध गराउने योजना रहेको महतोले बताए । बीज लगाइएको माउ गाइबाट जन्मने बाच्छीबाट दुध उत्पादनमा वृद्धी हुने उनले बताए । नेपालमा व्यवसायिक रुपमा पालन गरिएको गाइबाट एक बेतमा ५ हजार लिटर दूध उत्पादन भएपनि सो बीजबाट जन्मने बाच्छीलाई बीज प्रयोगपश्चात करिव १० हजार लिटर दूध उत्पादन हुने वरिष्ठ पशु विकास अधिकृत महतोको दावी छ । बाच्छा जन्मिए बरको रुपमा प्रयोग गर्ने र देशभरका उत्कृष्ठ बरबाट बीज उत्पादन गरी यही खपत गर्ने लक्ष्य छ । सो बीजका लागि किसानले रु ५० तिर्नुपर्छ । बीचमा रोकिएर पुन सञ्चालन भएको यो कार्यक्रमले सरकारले दुग्धमा नेपाललाई आत्मनिर्भर वनाउने लक्ष्यमा समेत टेवा पुग्ने विश्वास आशा गरिएको छ ।





