विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१२ बैशाख ।
सामान्यतया सुख्खा मौसममा भैँसी ब्याउँदैन । तर, एक गहन अध्ययनले सुख्खा मौसममा समेत भैँसीलाई सुत्केरी बनाउन सकिने तथ्य पत्ता लगाएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले १० वर्ष लगाएर गरेको एक अनुसन्धानले भैँसीको प्रजनन् क्षमता बढाउन सकिने तथ्य फेला पारेको हो ।
सामान्यतया साउनदेखि मंसिरसम्म भैंसी ब्याउँछ । मंसिरदेखि फागुनसम्म अलि कम ब्याउँछ । तर, चैतदेखि असार मध्यसम्म प्रायः भैँसी सुत्केरी हुँदैनन् । बैशाख, जेठ वा असारमा बाली गएमा सुख्खा मौसममा पनि भैँसी ब्याउँछ । तर, त्यो समयमा बाली जाने सम्भावना निकै कम हुन्छ । त्यसैले हिउँदका समयमा दूधको अभाव हुने, मूल्यवृद्धि हुने गर्छ । अब, हिउँदमा पनि बिगौती खान पाइने, ‘मिल्क होलिडे’ नहुने उपाय पत्ता लागेको छ । नेपालका भैंसीमा बैशाखदेखि असारसम्म प्रजनन् क्षमतामा हुने कमीको कारण, समाधानका सूत्र पहिचान गर्न अनुसन्धानले सघाएको छ । भैँसीले वर्षमा ३ सय दिन दूध दिनुपर्छ । तर, व्यवहारिकरुपमा २ सय दिनसम्म मात्रै दूध दिने गरेका छन् । जसले गर्दा झण्डै तीन महिना दूध उत्पादन हुँदैन । नेपालका कमै भैँसीले सुत्केरी भएको २ देखि ४ महिनासम्ममा बाली लिन्छन् । सामान्यतया भैँसी १० महिनामा सुत्केरी हुन्छन् ।
कृषि तथा वनविज्ञान विश्वविद्यालयको पशु विकास फर्ममा १० वर्ष लगाएर गरिएको अनुसन्धान सफलताउन्मुख बनेको छ । गत असार २ गते कृत्रिम गर्भाधान गराइएका ८ वटा मुर्रा जातिका भैँसीमध्ये ५ वटा भैँसी सुत्केरी भएका छन् । बैशाख ६ गते २ वटा, ३ गते १ वटा र १० गते १ वटा भैँसी सुत्केरी बनेका थिए । यस्तै पोखराको पशु विकास फर्ममा ७ वटा भैँसीमध्ये २ वटा सुत्केरी भएका छन् । विश्वविद्यालयका वैज्ञानिक प्रा.डा. भूमिनन्द देवकोटासहितको विज्ञ टोलीले सन् २०१३ देखि न्यून प्रजनन् क्षमताको समयमा बाली लगाउने प्रविधिबारे अनुसन्धान गरेको थियो । “हिउँदको समयमा भैँसीको डिम्बासय प्रायः निस्क्रिय रहन्छ”, विश्वविद्यालयका वैज्ञानिक तथा प्रा.डा. भूमिनन्द देवकोटाले भने, “घाँसलगायतको पोषणको कमी, बढ्दो गर्मीले भैँसी तनावमा हुन्छन् । सो बेलामा डिम्बासय निस्क्रिय बनिदिन्छ ।”

उनका अनुसार भैँसीमा जति धेरै ‘स्ट्रेच फ्याक्टर’ बढ्दै जान्छन्, त्यति नै डिम्बासयको क्षमता ह्रास आउँछ । रामपुरको भैँसी फर्मका भैंसीलाई नाम्ले, माटेलगायतका आन्तरिक परजीवीविरुद्धको औषधि दिने, पोषणमा पर्याप्त ध्यान दिने र भैँसीमा हुने अन्य तनाव कम गरेर अनुसन्धान गरिएको थियो भने पोखराका भैँसीमा यी पक्षलाई गौण मानेर अनुसन्धान गरिएको थियो । “चैतदेखि असारसम्म प्रायः दूधको हाहाकार हुन्छ”, वैज्ञानिक प्रा.डा. देवकोटाले भने, “यो अवधिमा भैँसी सुत्केरी हुन नसक्ने भएपछि हाहाकार हुनु स्वाभाविक हो । तर, हामीले पत्ता लगाएको प्रविधिलाई राष्ट्रिय स्तरमा प्रसार गर्न सक्यौँ भने वर्षैभरी दुध उत्पादन हुने स्थिति बन्छ ।”
अनुसन्धानले डिम्बासय निस्क्रय हुने कारण पत्ता लगाएर सोहीअनुसार सक्रिय बनाउने विधि पहिचान गरेको छ । “व्यवस्थापन र पोषणमा विशेष निगरानी राखेपछि डिम्बासय चलायमान छ छैन भनेर हेरिन्छ”, उनले भने, “यो विधिमा मलद्वारमार्फत डिम्बासयको स्क्रिन हेरिन्छ । सुषुप्त अवस्थामा भेटिए आवश्यकताअनुसारका हर्मोन राखिन्छ र चलयामान बनाइन्छ ।”
डिम्बासय चलायमान बनेपछि बल्ल प्राकृतिक वा कृत्रिमरुपमा भैँसीलाई गर्भाधान गराउने मिति तय हुन्छ । कृत्रिम गर्भाधान प्रयोगबाट ४० प्रतिश गर्भाधान सफल हुन्छ । यो विधिमार्फत ६२ प्रतिशतसम्मको सफलता हुनु सकारात्मक नतिजा भएको दाबी गरे । “तीन प्रकारका हर्मोन प्रयोग गर्दा केही खर्च बढीनै पर्छ”, उनले भने, “सर्वसुलभ बनाउने र कम भन्दा कम हर्मोन प्रयोग गर्नेतर्फ चासो दिएका छौँ । अझै अनुसन्धानकै क्रममा छौँ ।”
उनले यो विधिमार्फत हिउँदमा भैँसीलाई सुत्केरी हुने बनाउन अतिरिक्त ५ हजार रुपैयाँ खर्च लाग्ने बताए । “अनुसन्धानका क्रममा सुरुको वर्ष २८ प्रतिशत हुँदै ६२ प्रतिशसम्मको सफलता मिलेको हो”, उनले भने, “५ वर्षमा ८० प्रतिशत सफल हुने गरी अनुसन्धानलाई अझै गहन बनाएका छौँ ।” अघिल्ला वर्षमा १०÷१० वटा भैंसीमा अनुसन्धान गरिएको थियो । किसानले स्वयं यी विधिमार्फत भैँसीको प्रजनन् क्षमता बढाउन सक्ने गरी सुत्र बनाउने क्रममा रहेको बताए ।
व्यवस्थापन, पोषण, आन्तरिक परिजीवीको उपचारलगायत पक्षलाई सुधार गर्न सुत्र तयार गरेर ५ वर्षभित्र किसानले सहजरुपमा यी विधि अनुसरण गर्न सक्ने बनाइने दावी गरे । कृषि तथा वनविज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. मनराज कोलाक्षपतिले ‘भैँसी कालो सुन’ भएको टिप्पणी गरे । उनले अनुसन्धानले पत्ता लगेको प्रविधिलाई सरलीकरण गरेर किसानको पहुँचमा लैजान पहल गरिने बताए । विश्वविद्यालयका उपकुलपति प्रा.डा. इश्वरीप्रसाद ढकालले यही वर्षबाटै विश्वविद्यालयमा राष्ट्रिय भैंसी अनुसन्धान केन्द्र स्थापना गरिने बताए ।
उनले भने, “उत्पादन वृद्धि गर्न यस्ता प्रविधिले सघाउँछन्, यो प्रविधि राष्ट्रियस्तरमा अघि बढाउनुपर्छ ।” विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा.डा. नवराज देवकाटाले मिल्क होलिडेको अन्त्य गर्न अनुसन्धानले सघाउने बताए । विश्वविद्यालयका बायोटेक्नोलोजी केन्द्रका निर्देशक डा. ईश्वरी कडरियाले भैंसीमा भएको बाँझोपनाको मोलिक्युलर तहमा अनुसन्धान गरिने बताए । नेपालमा कूल दूध उत्पादनको ६७ प्रतिशत र मासु उत्पादनको ५७ प्रतिशत हिस्सा भैंसीले ओगटेको छ ।




