भरतपुर, १८ असोज ।
भरतपुर महानगरपालिकाले बनाउने भनिएको सिटिहल महानगरको केन्द्रभागमा बनाउन सरोकारवालाले आग्रह गरेका छन् । क्यान्सर अस्पतालको जग्गामा बनाउने प्रक्रिया अघि बढेपनि विरोध आउन थालेपछि अन्ततः गेष्टहाउस चौरमा बनाउन राजनीतिक दलले समझदारी गरेका खबर चर्चामा छ । सिटीहल बनाउने विषय यतिबेला निकै विवादित बन्न पुगेको छ । क्यान्सर अस्पतालको जग्गामा बनाउन हुदैन भनेर कांग्रेस र केही अभियान्ताले विरोध गरेपछि गेष्टहाउसको जग्गामा बनाउन महानगर अग्रसर बनेको थियो । गेष्टहाउस चौरमा अनुपयुक्त हुने भन्दै केही राजनीतिक दल तथा अभियान्ताले विरोध गरिसकेका छन् ।
भरतपुर महानगरपालिका–२२ पटिहानीमा बिहीबार आयोजित एक अन्र्तक्रिया कार्यक्रममा सहभागि अगुवाले बजार केन्द्रीत पूर्वाधार बनाउन नहुनेमा जोड दिएका छन् । कांग्रेस नेता दिनेश कोइरालाले गीतानगर, शिवनगर, पटिहानी, शारदानगर, गुञ्जानगर लगाएतका ठाउँ उपयुक्त हुने बताएका छन् । “यी क्षेत्र महानगरको केन्द्र भागमा पनि पर्छन्, सार्वजनिक जग्गा पनि प्रशस्तै छ”, उनले भने, “संघीयता भनेको विकेन्द्रीकरण हो, सबै पूर्वाधार बजार केन्द्रीत गरेर संघीयताको मर्मको उपहास हुन्छ ।” उनले दीर्घकालिन सोच राखेर ग्रामीण क्षेत्रको विकास गर्न महानगरका जनप्रनिधिको ध्यानाकर्षण गराए । भरतपुर–२२ का वडाध्यक्ष विष्णु महतोले पर्यटकीय क्षेत्रको रुपमा विकास हुदै गैरहेको पटिहानी क्षेत्र सिटिहलका लागि उपयुक्त भएको बताए । उनले महानगर नेतृत्वले यो विषयमा गम्भीर भएर छलफल गर्नुपर्ने बताए ।
कार्यक्रममा भरतपुर–१४ का वडाध्यक्ष ओम प्रकाश पोखरेल, साविक पटिहानी गाउँ विकास समितिका पूर्व उपाध्यक्ष रामजी प्रसाद सापकोटा, नेपाली कांग्रेस साविक क्षेत्र न ५ का सभापति लालबहादुर दवाडी, नेपाली कांग्रेसका नेताहरु साजन कुमार महतो, कुमार थपलिया, युवराज क्षेत्री, नेकपाका युवा नेताहरु शम्भु सुवेदी, शंकर थपलिया लगाएत केन्द्रभागमा सिटीहल बनाउन सुझाए ।
१ हजार शैया बनाउने, प्रतिष्ठान (एकेडेमी ) र क्यान्सर रिचर्स सेन्टर बनाउने लगायतका पूर्वाधार बनाउने गरी क्यान्सर अस्पतालको गुरुयोजना बनेकाले सो अस्पतालको जग्गा हाल खाली देखेर सुरुमै सिटीहल बनाउन खोज्नुनै गलत भएको नेताहरुले बताए । गुरुयोजनाका पूर्वाधार बनेमा अस्पतालको ७५ विघा जग्गा अपुग हुने भन्दै तत्कालिन गुरुयोजनाकारहरुले गैडाकोटमा थप २० विघा जग्गा भोगचलन गर्ने योजना बनाएका थिए । सोहि अनुरुप अस्पतालले गैडाकोटमा जग्गा समेत भोगचलन गरेको थियो । तर, केहि मेडिकल माफियाहरुले क्यान्सर अस्पताललाइ व्यवस्थित र विस्तार हुनबाट रोक्ने प्रयत्न गरिरहेका छन् । शहरको बीचमा उच्च जनघनत्व भएको स्थानमा ५ हजार सिट क्षमताको सिटिहल निर्माण अनुचितहुने भन्दै गेष्टहाउस चौरमा बनाउन नहुने आवाज उठेका छन् । पटिहानी, मेघौली, जगतपुर क्षेत्रमा अहिले सुविधा सम्पन्न होटेल खुल्ने क्रम बढेको छ । पश्चिम चितवनलाई केन्द्रबिन्दु मानेर सिटिहल निर्माण गर्दा शहर केन्द्रीत विकास गाउँमा पनि विस्तार हुने सुझाएका छन् ।




