चितवन साहित्य परिषद्द्वारा चार स्रष्टा पुरस्कृत

भरतपुर, २८ असार ।
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा चितवन साहित्य परिषद्ले विभिन्न विधाका चार स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

नारायणी कला मन्दिर र चितवन साहित्य परिषद्को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा ‘चिसाप प्रतिभा पुरस्कार–२०८३’ शान्ति शर्मालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु. १५ हजार ४५ रहेको छ ।

यसैगरी ‘चिसाप खेमलाल हरिकला लामिछाने साहित्य पुरस्कार–२०८२’ महाकाव्य `काव्य तपसी´का स्रष्टा माधव वियोगीलाई रु. ५० हजार ४६ राशिसहित प्रदान गरिएको छ । ‘चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार–२०८३’ नारी विषयक योगदानका लागि दाङकी बुनु लामिछानेलाई रु. ५० हजार ४५ राशिसहित प्रदान गरिएको छ । त्यस्तै ‘चिसाप क्वालिटी साहित्य पुरस्कार–२०८२’ निबन्धसङ्ग्रह `स्मृतिका सोपान´का लागि गायत्री श्रेष्ठलाई रु. २५ हजार ४५ राशिसहित सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गोविन्दराज विनोदी, विशिष्ट अतिथि रामबाबु घिमिरे तथा आयोजक संस्थाका अध्यक्षद्वय अनुकूल श्रेष्ठ र जगन्नाथ पण्डितले पुरस्कृत स्रष्टाहरूलाई माला, दोसल्ला, सम्मानपत्र तथा नगदसहित सम्मान गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता पनि अध्यक्षद्वय श्रेष्ठ र पण्डितले संयुक्त रूपमा गर्नुभएको थियो ।

चितवन साहित्य परिषद्का उपाध्यक्ष गणेश श्रमणले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा रत्ननगर वाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरेले आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदानबारे प्रकाश पार्नुभएको थियो ।

पुरस्कृत स्रष्टाहरूको व्यक्तित्व र कृतित्वमाथि पनि चर्चा गरिएको थियो । शान्ति शर्माबारे सरला जोशी, माधव वियोगीबारे प्रा.डा. नारायणप्रसाद खनाल, गायत्री श्रेष्ठबारे सुरेन्द्र अस्तफल तथा बुनु लामिछानेबारे पूर्णप्रसाद अधिकारीले परिचर्चा गर्नुभएको थियो ।

कार्यक्रममा रामायण पाठ तथा कविता वाचनसमेत गरिएको थियो । चितवन साहित्य परिषद्का सचिव नवराज ढुंगानाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट