गैँडाकोट, २६ असार ।
विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको संयुक्त आयोजनामा सञ्चालन हुँदै आएको ‘पठन संस्कृति अभियान’ को २०औँ शृङ्खला शनिबार (असार २७ गते) दिउँसो १२ बजे विजय विकास स्रोत केन्द्रको सभाहलमा आयोजना हुने भएको छ ।
पठन संस्कृतिको प्रवर्द्धन, समसामयिक विषयमा बौद्धिक बहस तथा अध्ययनशील समाज निर्माण गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको अभियानमा यसपटक विश्लेषक हरि शर्मा र लेखक तथा पत्रकार अश्विनी कोइराला वक्ताका रूपमा सहभागी हुनेछन् ।
आयोजकका अनुसार अभियानले अध्ययन, अनुसन्धान, आलोचनात्मक सोच तथा विचार–विमर्शको वातावरण सिर्जना गर्दै समाजमा पठन संस्कृतिलाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ। कार्यक्रममा साहित्य, पत्रकारिता, समसामयिक राजनीति, समाज तथा ज्ञान–विज्ञानका विविध विषयमा सहभागीहरूसँग अन्तरक्रियासमेत गरिनेछ ।
अभियानमा विद्यार्थी, शिक्षक, पत्रकार, लेखक, सामाजिक अभियन्ता तथा अध्ययन र बहसमा रुचि राख्ने सबैलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ ।





