चितवन, २६ जेठ ।
गजल मञ्च चितवनको आयोजनामा ‘गढीमा गजल’ कार्यक्रमको दोस्रो शृङ्खला यही जेठ ३० गते शनिबार इच्छाकामना गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीय स्थल उपरदाङगढीमा हुने भएको छ ।
नेपाली गजललाई खुला परिवेशमा पुर्याउने तथा ऐतिहासिक सम्पदासँग साहित्यिक गतिविधिलाई जोड्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले जानकारी दिए । कार्यक्रममा देशका विभिन्न प्रदेशका गजलकार, साहित्यप्रेमी तथा स्थानीय सरोकारवाला व्यक्तित्वको सहभागिता रहने अपेक्षा गरिएको अध्यक्ष अनायासले सुनाए ।
यसअघि ‘गढीमा गजल’ कार्यक्रमको पहिलो शृङ्खला चितवनको माडी नगरपालिकास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सोमेश्वर गढीमा गरिएको थियो ।
`पहिलो शृङ्खलाले साहित्यिक वृत्तमा सकारात्मक चर्चा प्राप्त गर्नुका साथै ऐतिहासिक सम्पदास्थलमा साहित्यिक कार्यक्रम आयोजना गर्ने अवधारणालाई थप सशक्त बनाएको थियो । सोही अभियानलाई निरन्तरता दिँदै दोस्रो शृङ्खला उपरदाङगढीमा आयोजना गर्न लागिएको हो´ – अध्यक्ष अनायासले भने ।
‘गढीमा गजल’ शृङ्खलाले गजल साहित्यको विकाससँगै स्थानीय कला, संस्कृति, इतिहास र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास लिइएको छ । प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्व बोकेको उपरदाङगढीमा आयोजना हुन लागेको कार्यक्रमले गजल साहित्य र पर्यटनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रमको प्रवर्द्धन इच्छाकामना गाउँपालिकाले गरेको छ भने इच्छाकामना साहित्य प्रवाहले सहकार्य गरेको छ । कार्यक्रमको मिडिया साझेदारका रूपमा कायाकैरन मिडिया नेटवर्क र बिप्स मिडिया रहेका छन् ।
गजल मञ्च चितवनले विगतदेखि नै गजल साहित्यको संरक्षण, प्रवर्द्धन तथा सर्जकहरूबीच सिर्जनात्मक संवाद विस्तार गर्ने उद्देश्यका साथ विविध साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ । ‘गढीमा गजल’ शृङ्खला त्यसैको एक महत्त्वपूर्ण अभियानका रूपमा अघि बढाइएको मञ्चले जनाएको छ ।
ऐतिहासिक गढी परिसरमा साहित्यिक सिर्जनाको गुञ्जन फैलाउने यस कार्यक्रमले स्थानीय समुदाय, साहित्यकार र पर्यटकबीच सकारात्मक अन्तरसम्बन्ध निर्माण गर्दै चितवनको साहित्यिक तथा सांस्कृतिक पहिचानलाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ ।





