चितवन, २४ जेठ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा चितवन क्षेत्र नम्बर – १ का प्रतिनिधिसभा सदस्य हरि ढकालले राजनीति मात्रै नभई अन्य विषयमा पनि ज्ञान हासिल गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले समाज पछिल्लो समय राजनीति र सामाजिक सञ्जालमा बढी केन्द्रित बन्दै गएको बताउनुभयो । पुस्तक, खेलकुद, चलचित्र, इतिहास, संस्कृति तथा तिथिमितिबारे पनि जानकारी राख्नुपर्नेमा जोड दिँदै उहाँले अध्ययनशील समाज निर्माणका लागि पुस्तकालय र अध्ययन संस्कृतिको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो ।
“विचार, विमर्श र तर्कहरू विकास गर्ने ठाउँ पुस्तकालय हो,” उहाँले भन्नुभयो, “अध्ययन र सिर्जनशीलतामा हामी पछि पर्दै गएका छौँ।” अभिभावकहरू सन्तानको अध्ययनप्रति थप संवेदनशील हुनुपर्ने उहाँको भनाइ थियो।
सामाजिक सञ्जालमा आएका शीर्षक मात्र पढेर धारणा बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उहाँले व्यक्तित्व विकासका लागि गहिरो अध्ययन र तथ्यमा आधारित बहस आवश्यक रहेको बताउनुभयो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय विश्वविद्यालयहरूमा अध्ययन गर्न लायक विषय भएको दाबी गर्दै त्यसमा चितवनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । साथै, जिल्लाका सबै वडामा रास्वपाका उम्मेदवार विजयी भएपछि मात्रै आफूले भनेको “संख्या पुगेन, हुजुर संख्या” भन्ने अभिव्यक्तिको लक्ष्य पूरा हुने धारणा व्यक्त गर्नुभयो। स्थानीय तहसँगको प्रभावकारी सहकार्यबाट मात्रै विकास सम्भव हुने उहाँले बताउनुभयो ।





