पत्रकार महासङ्घ स्थापना दिवसको अवसरमा चितवनमा रक्तदान

भरतपुर, १६ चैत ।
नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा चितवनमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल पत्रकार महासङ्घ, चितवन शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा ७ जना महिलासहित ५२ जनाले रक्तदान गरेका छन् । तीमध्ये ११ जनाले पहिलो पटक रक्तदान गरेका हुन् ।

चितवनमा क्रियाशील पत्रकार, नेपाल प्रहरीका सुरक्षाकर्मीलगायतको सहभागिता रहेको कार्यक्रमबारे महासङ्गघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले जानकारी दिए । रक्तदातालाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । कार्यक्रमलाई ब्लड डोनर्स सोसाइटी नेपालले सहयोग गरेको थियो ।

अध्यक्ष पराजुलीले लोकतन्त्र सुदृढ बनाउन पत्रकारहरू निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै रक्तदानमार्फत मानवीय कार्यलाई प्रोत्साहन गर्न खोजिएको बताए । उनले पत्रकारिता गर्दागर्दै दिवङ्गत भएका पत्रकारहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शासन प्रणालीलाई थप जवाफदेही बनाउन पत्रकारहरूले जिम्मेवार ढङ्गले कलम चलाउनुपर्ने बताए । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले रक्तदानको महत्व तथा सम्भावित रक्तदाताको समूहबारे जानकारी गराए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नारायणप्रसाद अधिकारी, भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीलगायतको उपस्थिति रहेको थियो । महासङ्घ चितवन शाखाका सचिव राजेश घिमिरेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दीपेन्द्र अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट