परिभाषा भन्दा परको प्रेम (कविता)

म बदल्न चाहन्छु प्रेमको परिभाषा
के स्वीकार्न सक्छ्यौ
यो नयाँ अर्थभित्रको प्रेम ?

म अङ्गालोभरि गुलाब बोकेर
क्षणिक सुगन्ध छर्न चाहन्नँ
म त हत्केलाभरि हिम्मत लिएर
तिम्रो हात थाम्न चाहन्छु

जसरी काँडाहरू
गुलाबको सुरक्षामा
निशब्द पहरेदार बन्छन्
त्यसरी नै
तिम्रो जीवनका आँधीहरूमा
अडिग उभिन चाहन्छु
बदलाको अपेक्षा बिना
भावुक वाचाको बन्धन बिना
कठिन यात्राहरूको सहयात्री बन्न चाहन्छु

मेरा अफ्ठ्याराहरू
तिम्रा काँधमा सार्न होइन
तिम्रा थकाइहरू
मेरो मौनताले सुम्सुम्याउन चाहन्छु
सहजताको छायाजस्तै
तिम्रो छेउमा बसिरहन चाहन्छु

म मेरा कमजोरीहरूको भार
तिमीमाथि थोपर्न चाहन्नँ
बरु मनभरि विश्वास
र आत्माभरि साहस बोकेर
तिम्रा सफलता र असफलताका कदमहरुमा
कदम मिलाउन चाहन्छु

म घुर्की र बहानाको छायाँ पछ्याउँदिन
संवेगका देखावटी रङ्गले
प्रेम सजाउन चाहन्न
उपहारको आदान-प्रदानभन्दा पर
म परिपक्व संवादको पुल
र विचारहरूको सहयात्री बन्न चाहन्छु ।

तिमीबाट आशातीत नभई
हृदयभरि निश्वार्थ माया
र समयभन्दा पनि दरिलो साथ बनेर
तिम्रो अगाडि
मेरो प्रेम प्रस्तावको हात बढाउँछु

के स्वीकार्न सक्छ्यौ
मेरो स्पष्ट
शान्त
स्थायी
र परिपक्व प्रेम ?

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट