कुखुराका चल्लाका झैँ
कलकलाउँदा रौँहरू सलबलाउँथे
माथिल्लो ओठका गराहरूमा
छुस्सछुस्स पहरा दिइरहन्थे दारीले
तल्लो ओठ र गालाका
लयदार फाँटहरूमा

म पनि कुनै बेला
हत्केलामा रहरहरू फुलाउने
जेन्न्जी थिएँ

आकाश ओढेर
धर्ती गोड्ने चाह हुन्थ्यो
कावा खाँदै
व्योमका फाँटहरूमा
समृद्धिका भकारीहरू बोलाउने
रहरहरूको गुजुल्टो हुन्थ्यो

म पनि कुनै बेला
पाइतालाका डोबहरूमा रमाउने
जेन्जी थिएँ

अन्यायी साम्राज्यलाई
च्यापेर खोकिलामा
निस्सासिने गरी
उसकै नक्कली वासलात
उसैबाट वमन गराउने
वमनसूत्रहरूको
धन्वतरी थिएँ म

म पनि कुनै बेला
विभेदका पर्खालहरू भत्काउने
जेन्जी थिएँ

मेरा नसानसामा
उम्लन्थ्यो गोर्खाली रगत
जातभातको वर्णव्यवस्थामा रमाउने
दीनदु:खीहरूको दैनिकीमा
अजिङ्गरमुख बाउने
सबैसबैप्रति
विद्रोहको मशाल थिएँ म

म पनि कुनै बेला
असङ्गतिका विरुद्ध शङ्खनाद गर्ने
जेन्जी थिएँ

म के थिइनँ र त्यतिबेला
मेरो हात नै मेरो हतियार थियो
फलामे रड भाँचिन्थे
दुई हत्केलाका कापमा निस्सासिएर
मेरो मन नै मेरो मतियार थियो
परास्त हुन्थे पश्चगामी विचारहरू
दुई पाउका दबाबमा थिचिएर

म पनि कुनै बेला
समताको यज्ञहरूमा रमाइरहने
जेन्जी थिएँ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट