भरतपुर, १० भदौ ।
`म पनि पढ्छु´ कार्यक्रमको एघारौँ शृङ्खला श्री विश्वप्रकाश माध्यमिक विद्यालय भरतपुर – १५ मङ्गलपुर, चितवनमा गरिएको छ । विद्यार्थीहरुमा पढ्ने बानीको विकास गराइ रचनात्मक एवम् सिर्जनशील बनाउन विद्यालयमा यो कार्यक्रम गरिएको शिक्षक विपिन पाठकले जानकारी दिए ।
कार्यक्रममा विद्यार्थी सन्तबहादुर बिकले बाँसुरी बजाएर सबैलाई स्वागत गरेका थिए । त्यसपछि विद्यार्थीले विभिन्न पुस्तकको समीक्षा प्रस्तुत गरेका थिए । सुरुवातमा समीक्षा राइले अमर न्यौपानेको पुस्तक गुलाबी उमेर´को समीक्षा गरिन् । त्यसपछि आभास काफ्लेले अङ्ग्रेजी पुस्तक जिरो टु वन´, राहुल चौधरीले माइन्ड पावर´, सुमित चौधरीले दि ट्रेडिङ जोन´को समीक्षा गरे । त्यस्तै अस्मिता तिमिल्सिनाले रामलाल जोशीको बाआमा´, सुमी बराइलीले विपिन पाठकको मरुभूमिमा वासन्ती याम´, कृति कुमारी गुप्ताले `योगमाया´ र प्रतिमा सुनारले `कस्तो छ तिमीलाई ?´ पुस्तकको समीक्षा सुनाए ।
सोही कार्यक्रममा शिक्षक रामकला कोइरालाले पुरुषोत्तम बजगाईँको नीलो प्रेम र प्रधानाध्यापक जयकृष्ण रिजालले बुद्धिसागरको `कर्णाली ब्लुज´ पुस्तकको समीक्षा प्रस्तुत गरे ।
नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि वसन्त पराजुलीले विद्यार्थीलाई पठन संस्कृति अभियानमा सहभागी बनाई समीक्षा गराउँदा उनीहरूमा शैक्षिक चेतना बढ्नुका साथै सिर्जनात्मक काममा मन जाने बताए । कार्यक्रमका विशिष्ट अतिथि विनोदबाबु रिजालले पढ्ने कामले विद्यार्थीलाई जीवनमा सहि मार्ग पछ्याउन मद्धत पुग्ने बताए ।
सम्पूर्ण किताब नारायणगढले एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवन र अङ्कुरम् एकेडेमीको सहयोगमा `म पनि पढ्छु´ कार्यक्रम चितवन र नवलपरासीका विद्यालयमा गरिरहेको छ ।





