चोक र चौताराहरूमा
औँलाको ईशारामा
खोक्रो आदर्शवादको
भाषण सुनाउन
र सुन्न
रहर छैन ।
व्यक्ति विशेषलाई
पूजा अर्चना गर्दै
भगवान बनाउन
म कदापि सक्दिनँ
मेरो स्वाभिमानले दिँदैन ।
कसैको दम्भ र अभिमानको
रक्षार्थ
आडम्बर भरिएको
झोला बोक्न
म किमार्थ
तयार छैन ।
सिद्धान्तबिहिन
राजनीति र
नीतिबिहिन विधि
मलाई मान्य हुँदैन
म स्वीकार्न सक्दिनँ ।
न स्वार्थ बोक्दछु
न पदलोलुपता नै
आफ्नो दुनो सोझ्याउन
कसैको पाउ पर्न
म सक्दिनँ ।
कसैको स्वार्थका खातिर
म आफूलाई
प्रयोग गर्दिनँ
मेरो स्वाभिमान
कसैको फाईदाको लागि
समर्पण गर्न सक्दिनँ ।
मलाई उचाई छुने
चाहना पनि छैन
सुद्दिहीनहरूलाई
धकेली धकेली
उचाईमा पुर्याउन
म सक्दिनँ ।
हुन सक्दिनँ
म कुटिल चालबाज
राख्दिनँ चाहना
मान र सम्मानको
मलाई गर्व छ
म हुनुमा
मलाई गर्व छ
भुईंमान्छे हुनुमा ।





