पर्वत, १० असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत विज्ञ क्लस्टरबाट पर्वत जिल्लाका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ई. शेखरनाथ चापागाईंले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
सिभिल इन्जिनियर चापागाईंले GIS, हाइड्रोलिक मोडेलिङ, विपद् व्यवस्थापन तथा सहरी–ग्रामीण योजना क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएको छ । उहाँ विगतमा CDEN (Center for Democratic Engineers Nepal) को केन्द्रीय समिति सदस्यसमेत रहनुभएको थियो ।
उम्मेदवारी घोषणा गर्दै चापागाईंले आफ्नो उम्मेदवारी व्यक्तिगत पद वा प्रतिष्ठाका लागि नभई पेसागत दक्षता र राजनीतिक जिम्मेवारीबीच सार्थक समन्वय कायम गर्न केन्द्रित रहेको बताउनुभएको छ ।
उहाँले कांग्रेस संगठनलाई वैचारिक तथा प्राविधिक रूपमा बलियो बनाउने, प्राविधिक तथा पेसागत क्षेत्रको आवाज नेतृत्व तहसम्म पुर्याउने तथा पर्वतलगायत क्षेत्रका कार्यकर्ताको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने आफ्नो प्राथमिकता रहेको उल्लेख गर्नुभएको छ ।
चापागाईंले क्षेत्रीय प्रतिनिधिहरूले आफ्नो अनुभव, प्रतिबद्धता र संगठनप्रतिको निरन्तर लगावको मूल्यांकन गर्दै साथ दिने विश्वास व्यक्त गर्नुभएको छ ।
“तपाईंहरूको विश्वास मेरो शक्ति हो, तपाईंहरूको साथ मेरो जिम्मेवारी हो,” उहाँले भन्नुभएको छ । साथै उहाँले पेशागत विज्ञ कांग्रेसलाई अझ सक्षम, सक्रिय, समावेशी र जनमुखी बनाउन साझा यात्रामा अघि बढ्न सबैलाई आह्वान गर्नुभएको छ ।





