चितवन, ४ भदौ ।
भरतपुरको होटल सिराइचुली विश्वप्रसिद्ध होटल ब्रान्ड Best Western Hotels & Resorts सँग आबद्ध भएको छ । आबद्धतासँगै होटलले अब Best Western Siraichuli Hotel नामबाट सेवा सञ्चालन गर्ने भएको छ ।
Best Western सँगको आबद्धताले होटललाई विश्वव्यापी बुकिङ प्रणाली, अन्तर्राष्ट्रिय लोयल्टी कार्यक्रम तथा ब्रान्डका सेवा र गुणस्तर मापदण्डसँग जोड्नेछ । यद्यपि होटलले आफ्नो स्थानीय पहिचान र मौलिक नेपाली आतिथ्यतालाई निरन्तरता दिने जनाएको छ ।
होटल सिराइचुलीको स्वामित्व तथा स्थानीय पहिचान यथावत रहने गरी Best Western Hotels & Resorts सँगको फ्रेन्चाइज सम्झौताअनुसार सञ्चालन प्रणाली, पाहुना सेवा तथा सुविधालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार थप व्यवस्थित गरिनेछ । नेपालमा Best Western को रणनीतिक साझेदारका रूपमा Traveality Nepal ले ब्रान्ड तथा व्यवस्थापन प्रणालीको रूपान्तरणमा सहजीकरण गरिरहेको छ ।
७१ कोठासहित आधुनिक सुविधा
Best Western Siraichuli Hotel मा Deluxe, Executive, Mini Suite र Suite गरी चार श्रेणीका ७१ वटा कोठा रहेका छन् । होटलमा तीनवटा भोजन तथा बार सेवा, रुफटप स्विमिङ पुल, जिम, स्पा, उच्च गतिको इन्टरनेट, बिजनेस सेन्टर, २४ घण्टा फ्रन्ट डेस्क तथा खानाको सेवा, पार्किङ र विद्युतीय सवारी चार्जिङ स्टेसनलगायत सुविधा उपलब्ध छन् ।
बैठक तथा कार्यक्रमका लागि ४०० जनासम्म अट्ने बैंक्वेट हल, बोर्डरुम तथा पीडीआरको व्यवस्था रहेको होटलले जनाएको छ ।
होटलमा सञ्चालित Timmur मा स्थानीय तथा अन्तर्राष्ट्रिय परिकार र कफी उपलब्ध छन् भने Kausi Lounge रूफटप तथा पूलसाइड बारका रूपमा सञ्चालनमा छ ।
चितवनको पर्यटनमा अन्तर्राष्ट्रिय पहुँचको अपेक्षा
चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वारका रूपमा रहेको भरतपुर पर्यटनसँगै व्यापार, स्वास्थ्य, शिक्षा तथा व्यवसायिक गतिविधिको केन्द्रका रूपमा विकास हुँदै गएको छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय होटल ब्रान्डसँगको आबद्धताले भरतपुर तथा चितवनको पर्यटन बजारमा अन्तर्राष्ट्रिय पहुँच र दृश्यता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
होटलका अनुसार Best Western को अन्तर्राष्ट्रिय नेटवर्क र लोयल्टी कार्यक्रममार्फत स्वदेशी तथा विदेशी पाहुनासम्म होटलको पहुँच विस्तार हुनेछ । साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसार कर्मचारी तालिम र सेवा प्रक्रियाको विकासबाट पाहुनालाई थप स्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।
Best Western Hotels & Resorts को नेटवर्क १०० भन्दा बढी देश तथा क्षेत्रमा फैलिएको छ। नेपालमा यसअघि दुईवटा Best Western होटल सञ्चालनमा रहेकामा भरतपुरको होटल सिराइचुली आबद्ध भएसँगै ब्रान्डको उपस्थिति चितवनसम्म विस्तार भएको छ ।




