गैंडाकोट, २७ असार ।
विजय सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड, गैंडाकोटको आयोजनामा विजय विकास स्रोत केन्द्रमा पठन संस्कृति अभियानको २०औँ शृङ्खला सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख वक्ता विश्लेषक हरि शर्मा र लेखक–पत्रकार अश्विनी कोइराला रहेका थिए । कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी तथा त्रिवेणी साहित्य प्रतिष्ठान, नवलपरासीका अध्यक्ष इन्द्रराज पौडेलले कविता वाचन गरेका थिए भने अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले गजल प्रस्तुत गरेका थिए ।
यसैगरी गणेश उपाध्याय ‘गमन´’ले विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त पुस्तक र सरस्वती तिमिल्सिनाले डा. नवराज केसीको स्वस्पर्श कृतिमाथि पाठकीय टिप्पणी प्रस्तुत गरेका थिए ।
साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले पठन संस्कृतिको प्रवर्द्धनमा साहित्यपोस्टले खेलेको भूमिकाबारे प्रकाश पारे भने विश्लेषक हरि शर्माले नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको योगदानबारे विस्तृत चर्चा गरे ।
कार्यक्रमको सहजीकरण विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले गरेका थिए । सहभागीहरूले यस्ता अभियानले पुस्तक पढ्ने, त्यसमाथि विमर्श गर्ने तथा समाजमा पठन संस्कृतिको विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बताएका थिए ।





