गणेशधामलाई धार्मिक पर्यटनको नमुना गन्तव्य बनाउने लक्ष्य, तीनवर्षे कार्ययोजना सार्वजनिक

पूर्वमन्त्री विजय सुवेदीको जोड– गुरुयोजनाअनुसार विकास अघि बढाउनुपर्ने, करिब ६ करोड रुपैयाँ सहयोग जुटाउने लक्ष्य

भरतपुर, २६ असार ।
गणेशधामलाई बागमती प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित गणेशधाम संरक्षण सम्बर्द्धन समितिले आर्थिक वर्ष २०८३–२०८५ सम्मको तीनवर्षे कार्ययोजना सार्वजनिक गरेको छ ।

समितिका महासचिव नवराज ढकालका अनुसार राजनकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिले दीर्घकालीन विकासको लक्ष्यसहित कार्ययोजना अघि सारेको हो ।

कार्ययोजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै समितिका संरक्षक तथा पूर्वमन्त्री विजय सुवेदीले गणेशधामको समग्र विकासका लागि गुरुयोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र पर्यटनको सम्भावना बोकेको गणेशधामलाई मौलिकता संरक्षण गर्दै आधुनिक पूर्वाधारसहित विकास गर्नुपर्ने उनको भनाइ थियो ।

“गणेशधामलाई केवल पूजा गर्ने स्थलमा सीमित नराखी धार्मिक, सांस्कृतिक तथा पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गर्न योजनाबद्ध ढंगले अघि बढ्नुपर्छ,” सुवेदीले भने । उनले गणेशधामको विकासले स्थानीय पर्यटन, रोजगारी र आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथि तथा समितिका निवर्तमान अध्यक्ष दिनेशकुमार चुकेले गणेशधामको धार्मिक महत्वलाई थप विस्तार गर्न नयाँ संरचना र पर्यटक आकर्षित गर्ने कार्यक्रम आवश्यक रहेको बताए ।

समितिका अध्यक्ष राजनकुमार श्रेष्ठले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वलाई थप उजागर गर्दै आवश्यक स्रोत व्यवस्थापन र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिने जानकारी दिए ।

प्रथम उपाध्यक्ष बाबुराम अधिकारीले गणेशधामलाई नमुना धार्मिक स्थलका रूपमा विकास गर्न विभिन्न संघसंस्था तथा व्यक्तिबाट करिब ६ करोड रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्य रहेको बताए । द्वितीय उपाध्यक्ष विक्रम श्रेष्ठले धाम परिसरमा आकर्षक सेल्फी गार्डेन निर्माण गरिने योजना सार्वजनिक गरे ।

महासचिव नवराज ढकालले कार्ययोजनासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए भने विशिष्ट कार्य निर्देशक बाबुराम उपाध्यायले हालसम्म सम्पन्न संरचना, उपलब्धि र आगामी तीन वर्षका विकास योजनाबारे जानकारी गराए ।

ऐतिहासिक महत्व बोकेको गणेशधाममा वि.सं. २०१३ सालमा सालको रूखको फेदमा ढुंगाको गणेश मूर्ति स्थापना गरी पूजा सुरु गरिएको जनविश्वास छ । पाल्पाका राजा मणिमुकुन्द सेनले निर्माण गरेको मानिने प्राचीन इनार अहिले पनि मन्दिर परिसरमा सुरक्षित रहेको छ ।

कार्ययोजनाअनुसार पुण्यवती ताल निर्माण सम्पन्न गर्ने, दैनिक आरती सञ्चालन गर्ने, अक्षयकोष स्थापना गर्ने, गणेश भगवानका १२ स्वरूपका मूर्ति स्थापना गर्ने, धाम परिसरलाई हरियाली तथा पर्यटकमैत्री बनाउने र ऐतिहासिक इनारलाई प्राचीन शैलीमै संरक्षण गर्ने योजना अघि सारिएको छ । समितिले यी योजनाको प्रभावकारी कार्यान्वयनमार्फत गणेशधामलाई धार्मिक पर्यटनको नयाँ पहिचान दिलाउने विश्वास व्यक्त गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट