‘एक विद्यार्थी, एक बिरुवा’ अभियानमा नेपाल पुलिस स्कुल शान्तिपुर

चितवन, २५ असार ।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा प्रकृतिप्रतिको उत्तरदायित्वबोध अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पुलिस स्कुल, शान्तिपुर, चितवनले ‘एक विद्यार्थी, एक बिरुवा’ अभियानअन्तर्गत वृक्षारोपण प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ ।

‘प्रकृति नै जीवनको आधार हो’ भन्ने मूल भावका साथ आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक–शिक्षिका तथा नेपाल प्रहरीका कर्मचारीहरूलाई वातावरण संरक्षण, हरियाली विस्तार र प्रकृतिसँगको जिम्मेवार सम्बन्धबारे सचेत गराइएको विद्यालयले जनाएको छ ।

असार २४ गते सम्पन्न अभियानमा फलफूल, फूल तथा बहुउपयोगी औषधीय प्रजातिका गरी ८०० वटा बिरुवा वितरण गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल प्रहरी प्रदेश कार्यालय, बनेपाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य मुकुन्दराज कँडेल, भरतपुर महानगरपालिका–१४ का वडाध्यक्ष राजेन्द्र साँखी, विद्यालयका समादेशक रोशन थापा तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बिरुवा हस्तान्तरणसँगै बिरुवा रोप्ने सही विधि, नियमित स्याहारसुसार तथा संरक्षणका उपायबारे समेत जानकारी दिइएको थियो । वितरण गरिएका बिरुवाहरू सहभागीहरूले आफ्ना घर तथा आँगनमा रोपेर वातावरण संरक्षणमा व्यक्तिगत जिम्मेवारी निर्वाह गर्ने अपेक्षा विद्यालयले गरेको छ ।

प्राचार्य मुकुन्दराज कँडेलका अनुसार अभियान बिरुवा वितरणमै सीमित रहने छैन । वितरण गरिएका बिरुवाको संरक्षण र स्याहारसुसार सुनिश्चित गर्न अनुगमनसमेत गरिनेछ ।

विद्यालयले यस अभियानले विद्यार्थीमा वातावरणीय चेतना, प्रकृतिप्रतिको जिम्मेवारी र दिगो विकासप्रतिको सकारात्मक सोच अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट