गोरखा, २४ असार ।
गोरखाको पालुङ्टार नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ४ हजार ५८२ जना विद्यार्थीलाई सामूहिक दुर्घटना बीमाको दायरामा ल्याइने भएको छ ।
यसका लागि पालुङ्टार नगरपालिका र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।
नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बी.सी.ले नगरपालिकाको तर्फबाट तथा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रतिनिधिले कम्पनीको तर्फबाट सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत सबै ४ हजार ५८२ विद्यार्थीको एक वर्षका लागि सामूहिक दुर्घटना बीमा गरिनेछ ।
प्रत्येक विद्यार्थीले दुर्घटनाबाट प्रभावित भएमा अधिकतम ७० हजार रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्नेछन्। प्रति विद्यार्थी १०५ रुपैयाँ बीमा शुल्क र २० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ ।
बीमा दाबीका लागि दुर्घटना वा उपचारसम्बन्धी प्रमाण, आवश्यक कागजात तथा मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्रलगायतका कागजातका आधारमा प्रचलित कानुन र बीमा कम्पनीको नियमअनुसार भुक्तानी गरिने व्यवस्था गरिएको सम्झौतामा उल्लेख छ ।
नगरपालिकाले विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै दुर्घटनाबाट हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यस कार्यक्रमबाट दुर्घटनामा परेका विद्यार्थी तथा उनीहरूका परिवारलाई आवश्यक आर्थिक राहत पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।





