४२ वटा शोधपत्रमाथि प्राज्ञिक मन्थन गर्दै सकियो राष्ट्रिय अनुसन्धान सम्मेलन

चितवन, जेठ २४ ।

भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसद्वारा आयोजित तीनदिने राष्ट्रिय अनुसन्धान सम्मेलन आइतबार सम्पन्न भएको छ। सम्मेलनमा नेपालका पाँच विश्वविद्यालयका १७० जना शिक्षाविद्, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

‘दिगोपना, रूपान्तरणकारी शिक्षा, व्यवस्थापन र प्रविधिमा आधारित नवप्रवर्तन’ विषयवस्तु केन्द्रित सम्मेलनमा ४२ वटा अनुसन्धानपत्र प्रस्तुत तथा छलफल गरिएको क्याम्पसले जनाएको छ। १० वटा प्राविधिक सत्र र ६ वटा पूर्णसत्रमार्फत विभिन्न समसामयिक शैक्षिक तथा सामाजिक विषयमा गहन विमर्श गरिएको थियो।

सम्मेलनका क्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डा. महानन्द चालिसे, पूर्वडिन डा. डिल्लीराज शर्मा, शिक्षाविद् डा. विद्यानाथ कोइराला, काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा. विनोदप्रसाद पन्त, नेपाल खुला विश्वविद्यालयका सहप्राध्यापक खगेन्द्र प्रसाई तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. रमेशराज पन्तलगायतले आफ्ना विचार प्रस्तुत गरेका थिए।

समापन समारोहलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. प्रेमनारायण अर्यालले उच्च शिक्षामा अनुसन्धानको संस्कृति विकास गर्नु समयको आवश्यकता भएको बताए। उनले देशको समग्र विकासका लागि अनुसन्धान र बौद्धिक विमर्शलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीले सप्तगण्डकी क्याम्पसलाई अनुसन्धान र अध्ययनको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउँदै आगामी दिनमा अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन आयोजना गर्ने तयारी थालिने जानकारी दिए।

सम्मेलनको अन्तिम दिन जलवायु परिवर्तन र वातावरणीय दिगोपनासम्बन्धी विशेष पूर्णसत्र सञ्चालन गरिएको थियो। उक्त सत्रमा डा. रमेशराज पन्तले जलवायु परिवर्तनका कारण, प्रभाव र समाधानका उपायबारे अनुसन्धानमूलक प्रस्तुति दिएका थिए। उनले नेपालले न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको असर व्यापक रूपमा भोग्नुपरेको उल्लेख गरे।

क्याम्पसका अनुसार सम्मेलनले शिक्षाविद्, अनुसन्धानकर्ता, नीतिनिर्माता, व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूबीच ज्ञान, अनुभव र अनुसन्धानका निष्कर्ष आदान–प्रदान गर्ने साझा मञ्च प्रदान गरेको छ। सम्मेलनमा विज्ञ वक्तव्य, आमन्त्रित प्रवचन, प्यानल छलफल, शोधपत्र प्रस्तुति, कार्यशाला तथा पोस्टर प्रस्तुति समावेश गरिएको थियो।

विश्वविद्यालय अनुदान आयोग नेपालको आर्थिक सहयोगमा आयोजित सम्मेलनमा भरतपुर महानगरपालिका, चितवन उद्योग वाणिज्य संघ तथा मौलाकालि केबलकार लिमिटेडले सहकार्य गरेका थिए।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट