अमेरिकाको नर्थ क्यारोलाइना राज्यको क्यारी शहरमा “किताब जात्रा यूएसए” को पहिलो संस्करण सम्पन्न भएको छ । नेपाली भाषा, साहित्य र पुस्तक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा साहित्यप्रेमी, लेखक तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य नर्थ क्यारोलाइना नेपाली लिटरेचर सोसाइटी, अनेसास’ का उपाध्यक्ष विक्रम गौतम तथा ‘नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना’का अध्यक्ष ददिन पाण्डेले राखेका थिए ।
दीप प्रज्वलन वरिष्ठ साहित्यकार नीलम कार्की निहारिकाद्वारा सम्पन्न गरिएको थियो भने कार्यक्रम सञ्चालन आकर्षक ढंगले गरिएको थियो ।
“किताब जात्रा” का फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले किताब जात्राको उद्देश्य, नेपाली पुस्तक बजारको वर्तमान अवस्था तथा विश्वभर नेपाली साहित्य विस्तार गर्ने अभियानबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा लेखक सालिक दाहालको “द अनफिनिस्ड सेल्फ” पुस्तक विमोचन गरिएको थियो ।
वरिष्ठ साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो नयाँ कृति “राजमाता” लेखन अनुभवबारे विशेष मन्तव्य व्यक्त गर्दै साहित्य सिर्जनाका विविध पक्षहरू साझा गरेकी थिइन् ।
त्यसैगरी, नेपाली साहित्यको इतिहासबारे प्रमुख वक्ताका रूपमा सुरेश भट्टले विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए ।
समापन सत्रमा विभिन्न कविहरुले कविता वाचन पनि गरेका थिए ।





