नारायणगढ – बुटवल सडक विस्तार करिब सम्पन्न, यात्रामा ऐतिहासिक सहजता

भरतपुर, ८ जेठ ।
लामो समयदेखि निर्माणाधीन तथा यात्रुहरूले निकै प्रतीक्षा गरेको नारायणगढ – बुटवल सडक विस्तार आयोजना अब अन्तिम चरणमा पुगेको छ। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गतको यो अत्यन्त महत्वपूर्ण सडक खण्डको करिब ९२ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ, जसले पश्चिम नेपालका यात्रु तथा व्यवसायिक क्षेत्रलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ ।

११४ किलोमिटर लामो यो सडक खण्डलाई एसियाली राजमार्ग मापदण्डअनुसार चार लेनमा विस्तार गरिएको छ भने भौगोलिक जटिलता रहेको दाउन्ने क्षेत्रमा तीन लेन संरचनासहित निर्माण गरिएको छ । निर्माण सम्पन्न भएपछि नारायणगढ–बुटवल यात्रा समय करिब दुई घण्टामा सीमित हुने अनुमान गरिएको छ । अहिले सडकको अवस्था तथा निर्माण कार्यका कारण यात्रुहरूले भोग्दै आएको लामो जाम र कठिन यात्रामा उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ ।

आयोजनाअन्तर्गत दाउन्ने खण्डको अन्तिम १६० मिटर ढलान कार्य मात्रै बाँकी रहेको जनाइएको छ । सडक निर्माणको समग्र काम अन्तिम चरणमा पुगेकाले बाँकी काम पनि छिट्टै सम्पन्न हुने अपेक्षा गरिएको छ ।

करिब १६ अर्ब ९९ करोड रुपैयाँ लागत रहेको यो आयोजना २०७५ सालदेखि सुरु गरिएको थियो । निर्माण अवधिमा विभिन्न प्राविधिक चुनौती, मौसमको प्रभाव, निर्माण सामग्रीको व्यवस्थापन तथा समयसीमा थपिने अवस्थाका कारण परियोजना केही ढिलो भएको थियो । तर पछिल्लो समय निर्माणको गति बढाइएकाले आयोजना अब पूर्णतिर उन्मुख भएको देखिएको छ ।

यो सडक विस्तार सम्पन्न भएपछि यात्रुहरूको यात्रा सहज मात्र नभई मालसामान ढुवानी, व्यापारिक गतिविधि, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । विशेषगरी चितवन, नवलपरासी, रूपन्देहीलगायतका जिल्लामा आर्थिक गतिविधि थप चलायमान हुने विश्वास गरिएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गको महत्वपूर्ण खण्डका रूपमा रहेको नारायणगढ – बुटवल सडकलाई पश्चिम नेपालका लागि ‘जीवनरेखा’ मानिने भएकाले यसको विस्तारले समग्र यातायात प्रणालीमा नयाँ गति थप्ने अपेक्षा गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट