भरतपुर, ८ जेठ ।
चितवनको भरतपुर र कास्कीको पोखराबीच हुँदै आएको हवाई सेवा बन्द भएको छ । बुद्ध एयरले विगत एक महिनादेखि भरतपुर–पोखरा उडान रोकेको जनाएको छ ।
बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतका अनुसार पोखरा र भरतपुरबीच यात्रा गर्ने यात्रुको संख्या अत्यन्त न्यून हुनु, हवाई भाडा बढ्नु तथा पोखरा–मुग्लिङ सडकखण्ड सुधारिएपछि सडक यात्रा सहज बन्दै जानुले उडान सञ्चालनमा प्रभाव परेको हो ।
उनले यात्रु चाप घट्दै जाँदा उडान सञ्चालन आर्थिक रूपमा पनि चुनौतीपूर्ण बनेको बताए । भरतपुर–पोखरा हवाई सेवा विशेषगरी पर्यटक र व्यवसायिक यात्रुका लागि उपयोगी मानिँदै आएको थियो ।





