भरतपुर, २ जेठ ।
निर्माण सामग्रीको निरन्तर बढ्दो मूल्य नियन्त्रण तथा त्यसबाट सिर्जित समस्या समाधानको माग गर्दै भरतपुरमा निर्माण व्यवसायीहरूले विभिन्न सरकारी कार्यालयअगाडि विरोध प्रदर्शन गरेका छन् । निर्माण व्यवसायी संघ चितवनको नेतृत्वमा व्यवसायीहरूले पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय र भरतपुर महानगरपालिकाको परिसरमा धर्ना दिएका हुन् ।
व्यवसायीहरूका अनुसार निर्माण सामग्री र इन्धनको मूल्यमा भइरहेको निरन्तर वृद्धि कारण धेरै विकास आयोजना प्रभावित बनेका छन् । लागत अत्यधिक बढ्दा निर्धारित समयमै काम सम्पन्न गर्न कठिन भएको र समग्र निर्माण क्षेत्र नै संकटतर्फ धकेलिन सक्ने अवस्था आएको उनीहरूको भनाइ छ ।
विरोध कार्यक्रममा सहभागी व्यवसायीहरूले कालोपट्टी बाँधेर शान्तिपूर्ण प्रदर्शन गर्दै “मूल्यवृद्धि नियन्त्रण गर”, “निर्माण व्यवसायीको संरक्षण गर” लगायतका नारा लगाएका थिए ।
निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष दिनेशचन्द्र न्यौपानेले व्यवसायीहरूको मागप्रति सम्बन्धित निकाय गम्भीर नबने निर्माण कार्य रोक्नेदेखि थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिए ।
धर्ना कार्यक्रममा संघका पूर्व केन्द्रीय सदस्य होमकुमार शर्मा, बागमती प्रदेश उपाध्यक्ष उमानन्द कंडेल, जिल्ला उपाध्यक्षद्वय माधवप्रसाद पोखरेल र छवि गौतम, महासचिव पुस्कर अधिकारी, सचिव शिव ढकाललगायत जिल्लाका अन्य निर्माण व्यवसायीहरूको सहभागिता रहेको थियो ।
यसअघि उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि पनि धर्ना दिएका थिए ।





