अनाथ निरुताको सपनामा लायन्स क्लबको साथ, चेपाङ छात्रावासलाई नयाँ भवन

कालिका, २ जेठ ।
कालिका नगरपालिका–१० मा नवनिर्मित चेपाङ छात्रावास भवन शनिबार एक समारोहबीच हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ नारायणगढको संयोजनमा निर्माण गरिएको भवन लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आर नेपालका गभर्नर नवराज सापकोटा र चितवन एड ट्रस्ट (क्याट) युकेका निवर्तमान अध्यक्ष कृष्ण तिवारीले सिद्धि चेपाङ छात्रावासका संरक्षक भरत चेपाङलाई संयुक्त रूपमा साँचो हस्तान्तरण गरेका हुन् ।

लायन्स क्लब अफ नारायणगढका अध्यक्ष सनदकुमार पियाले क्याट युकेबाट प्राप्त पाँच लाख रुपैयाँ सहयोगमध्ये चार लाख ८० हजार रुपैयाँ भवन निर्माणमा खर्च गरिएको जानकारी दिए । बाँकी रकममा थप स्रोत जुटाएर शौचालय निर्माण गरिने उनले बताए । साथै, छात्रावासको आयआर्जनका लागि कुटानी–पिसानी मेसिन सञ्चालन गर्न सुझाव दिँदै त्यसका लागि क्लब सहयोग गर्न तयार रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा यस वर्ष एसइई उत्तीर्ण सिद्धि चेपाङ छात्रावासका विद्यार्थीहरू निरुता चेपाङ (३.१ जिपिए), अर्पणा चेपाङ (२.७३ जिपिए), उपेन्द्र चेपाङ (२.६९ जिपिए) र सुशील चेपाङ (२.६६ जिपिए) लाई नगदसहित मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो ।

उनीहरूले राष्ट्रिय माध्यमिक विद्यालय मझबाङबाट एसइई परीक्षा दिएका थिए । नयाँ किरण संस्थाद्वारा सञ्चालित उक्त छात्रावासबाट यस वर्ष सात जना विद्यार्थी एसइईमा सहभागी भएका थिए ।

कार्यक्रममा विशेषगरी छात्रा निरुता चेपाङको संघर्षपूर्ण जीवनकथाले सबैको ध्यान खिच्यो । ३.१ जिपिए ल्याएकी निरुता आमाको निधन र त्यसपछि बुवाको आत्महत्यापछि अभिभावकविहीन बनेकी हुन् । नर्स बन्ने सपना बोकेकी उनी आफैं आन्द्रासम्बन्धी स्वास्थ्य समस्यासँग जुधिरहेकी छन् ।

आर्थिक अभावका कारण नर्सिङ अध्ययनमा कठिनाइ झेलिरहेकी निरुतालाई क्याट युकेका निवर्तमान अध्यक्ष कृष्ण तिवारीले उच्च शिक्षाका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

लायन्स क्लबका अध्यक्ष सनदकुमार पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर सिद्धार्थलाल चुके, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर (इलेक्ट) कमलप्रसाद श्रेष्ठ, जोन चियर पर्सन अञ्जु पिया, समाजसेवी तथा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट