धनकुटा, २ जेठ ।
धनकुटाको भेडेटारमा गर्मी छल्न आन्तरिकसँगै भारतीय पर्यटकको भीड बढ्न थालेको छ । पछिल्लो समय विशेषगरी भारतीय पर्यटकको आगमन बढेसँगै यहाँको पर्यटन गतिविधि र व्यापारिक चहलपहलमा वृद्धि भएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् ।
समुद्री सतहबाट करिब १ हजार ४ सय मिटर उचाइमा रहेको भेडेटारमा दैनिक सयौं पर्यटक पुग्ने गरेका छन् । हरिया डाँडाकाँडा, शीतल मौसम तथा सूर्योदय–सूर्यास्तको मनोरम दृश्य यहाँका प्रमुख आकर्षण बनेका छन् ।
होटल व्यवसायीका अनुसार भारतको विहार राज्यअन्तर्गत पूर्णिया, कटिहार, अररिया, किसनगञ्ज, सहर्षा र भागलपुरलगायत क्षेत्रबाट उल्लेख्य संख्यामा पर्यटक आउने गरेका छन् ।
गर्मीयाममा भेडेटार उनीहरूको प्रमुख रोजाइको गन्तव्य बन्दै गएको व्यवसायीहरूको भनाइ छ ।





