गैँडाकोट, २ जेठ ।
नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका –११ हर्कपुर शनिबार साँझ रंगीन र उत्साहपूर्ण माहोलले भरिएको देखियो । होटल इला कम्फर्टको स्विमिङ पुल परिसरमा आयोजित ‘सटर्डे पुल पार्टी’ मा संगीतको ताल, रंगीन प्रकाश र युवाहरूको उत्साहले छुट्टै आकर्षण थपेको थियो ।

पानीका छालसँगै बजिरहेका आधुनिक धुन, झिलिमिली बत्ती र सहभागीहरूको उल्लासले केही समयका लागि इला कम्फर्टलाई मिनी थाइल्याण्डझैँ अनुभूति गराएको थियो । कार्यक्रममा सहभागी धेरैले यसलाई सामान्य पार्टीभन्दा फरक र स्मरणीय अनुभवका रूपमा लिएका थिए ।
इला होटलका जनरल म्यानेजर प्रदीप किरण न्यौपानेका अनुसार कार्यक्रममा हालसम्म ४ सयभन्दा बढीको सहभागिता भइसकेको छ । सहभागीहरूको उत्साहले कार्यक्रमलाई अझ जीवन्त र आकर्षक बनाएको उहाँले बताउनुभयो ।

आइएमई ग्रुपअन्तर्गतको इला हस्पिटालिटीद्वारा आयोजित उक्त कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय पर्यटन प्रवर्द्धन तथा नयाँ जीवनशैलीको अनुभव गराउने उद्देश्यसँग पनि जोडिएको थियो ।
कार्यक्रम संयोजक निशान कँडेलका अनुसार पछिल्लो समय नेपालमा अनुभवमा आधारित पर्यटन र युवा लाइफस्टाइलप्रति आकर्षण बढ्दो छ । यही मागलाई ध्यानमा राख्दै आराम, संगीत, संस्कृति र सुरक्षित वातावरणलाई एउटै थलोमा जोड्ने प्रयास गरिएको उहाँले जानकारी दिनुभयो ।
शनिबारको त्यो साँझ इला कम्फर्टमा केवल पार्टी मात्र भइरहेको थिएन, त्यहाँ युवाहरूले नयाँ शैलीको मनोरञ्जन, स्वतन्त्रता र जीवनको उत्साहलाई पनि नजिकबाट महसुस गरिरहेका थिए ।





