गैँडाकोट, २ जेठ ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका –२ स्थित जिल्लाकै एकमात्र ‘क’ वर्गको गैँडाकोट इङ्लिस स्कुलले एसइई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको अवसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरेको छ । विद्यालय यस वर्षको एसइई परीक्षामा जिल्लाकै प्रथम हुन सफल भएको छ भने ९८.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै उत्कृष्ट उपलब्धि हासिल गरेको हो ।
कार्यक्रममा एसइईमा उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो । साथै ४.०० जिपिए हासिल गरेकी छात्रा तेजस्वी पन्तलाई विद्यालयले पूर्वघोषणाअनुसार १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
विद्यालयले एसइईमा ४.०० जिपिए ल्याउने विद्यार्थीलाई १ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको थियो । सो लक्ष्य पूरा गरेपछि छात्रा पन्तलाई विशेष सम्मानसहित पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालयका प्राचार्य हीरालाल अर्याल, गैँडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यलगायतले छात्रा पन्तलाई सम्मान तथा बधाई ज्ञापन गर्नुभएको थियो ।
प्राचार्य अर्यालले विद्यालयले शैक्षिक उपलब्धिसँगै अनुशासन, संस्कार र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै विद्यार्थीको सफलता विद्यालय, शिक्षक र अभिभावकको साझा मेहनतको परिणाम भएको बताउनुभयो । उहाँले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
त्यसैगरी नगर शिक्षा अधिकारी आचार्यले विद्यार्थीहरू पढाइमा मात्र होइन, नैतिकवान, जिम्मेवार र अनुशासित नागरिक बन्न आवश्यक रहेको बताउनुभयो । असल चरित्र, सकारात्मक सोच र सामाजिक उत्तरदायित्व भएका विद्यार्थी उत्पादन गर्नु नै शिक्षाको मुख्य उद्देश्य भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा एसइई २०८२ मा सफलता हासिल गरेका अन्य विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । विद्यालय प्रशासनले गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
छात्रा पन्तले आफ्नो लगनशीलता, विद्यालय परिवारको मार्गनिर्देशन र परिवारको साथ, सहयोगले आफूलाई यो सफलता मिलेको प्रतिक्रिया दिनुभयो ।





