अर्घाखाँची, २ जेठ ।
गच्छे–भालुवाङ सडकअन्तर्गत गच्छेदेखि ढिकुरा–डेभा खण्डमा आंशिक कालोपत्रे कार्य सुरु हुने तयारी भएको छ । करिब ८ किलोमिटर सडक क्षेत्रमा पिच गर्ने प्रक्रिया अघि बढेसँगै स्थानीयवासीमा सडक सुधारको आशा बढेको छ ।
यद्यपि सडक स्तरोन्नति कार्यले अपेक्षित गति लिन नसकेको भन्दै स्थानीयले कामलाई तीव्र र गुणस्तरीय रूपमा अगाडि बढाउन माग गरेका छन् । वर्षायाम नजिकिँदै जाँदा सडक हिलाम्मे र जोखिमपूर्ण बन्न सक्ने उनीहरूको चिन्ता छ ।
जुकेना क्षेत्रका स्थानीयले अर्घाखाँचीका नवनिर्वाचित सांसद हरिप्रसाद भुसाल को यस सडकप्रति समयमै ध्यान जानुपर्ने बताएका छन् । आगामी बजेटमा सडक स्तरोन्नतिका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने आवाज पनि उठाइएको छ ।
सडकका विभिन्न खण्डमा निर्माण कम्पनीहरूले कामलाई अघि बढाइरहेका छन् ।
स्थानीयका अनुसार सडक कालोपत्रे भएपछि वर्षौंदेखिको धुलाम्मे र हिलाम्मे समस्या हट्ने अपेक्षा गरिएको छ । साथै यातायात सहज हुने, व्यापार व्यवसायमा टेवा पुग्ने र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
स्थानीयवासीले निर्माण कार्य समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन आवश्यक रहेको बताएका छन् ।





