भरतपुर, २ जेठ ।
प्रोस्टेट क्यान्सर तथा पुरुषहरूको मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले रोयल राईनो राईडर्स मोटरसाइकल क्लब चितवनले ‘द डिस्टिङ्ग्विस्ड जेन्टलम्यान्स राइड २०२६’ आयोजना गर्ने भएको छ ।
‘द डिस्टिङ्ग्विस्ड जेन्टलम्यान्स राइड’ अभियान सन् २०१२ मा अष्ट्रेलियाबाट सुरु भएको हो भने चितवनमा यो अभियान सन् २०१५ देखि रोयल राईनो राईडर्स मोटरसाइकल क्लबले सञ्चालन गर्दै आएको छ ।
क्लबका प्रतिनिधि राइनो डाक्टर शशांक कुमार सिंहका अनुसार क्लासिक तथा भिन्टेज मोटरसाइकल चालकहरू औपचारिक पोशाकमा सहभागी भई एकसाथ र्यालीमा निस्किनेछन् । कार्यक्रममार्फत मोटरसाइकलको स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका तथा ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई सहभागी नगराइने बताइएको छ ।
क्लबका अध्यक्ष राइनो मन्दिपमान श्रेष्ठले सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्नु पनि कार्यक्रमको प्रमुख उद्देश्य रहेको जानकारी दिनुभयो ।
जेठ ३ गते आइतबार बिहान ८ बजे एयरपोर्ट अगाडि रहेको ट्रायम्फ सोरुमबाट सुरु हुने र्याली बसपार्क, बाइपास रोड, मालपोतचोक हुँदै तीनखोले गुम्बा पुग्नेछ । त्यहाँ वृक्षरोपण तथा विश्व शान्तिको प्रार्थनापछि र्याली आपटाडी हुँदै पुल्चोकबाट बारघरेस्थित एडम्स लाउञ्ज एण्ड स्पोर्ट्स बारमा पुगेर समापन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा ट्रायम्फ सोरुम चितवन, समिट हेल्थकेयर अस्पताल भरतपुरलगायत विभिन्न संघसंस्थाको सहयोग रहेको क्लबका सचिव राइनो रुक्सन गुरुङले बताउनुभयो ।





