मैले हावा सँग साइनो गाँसेको छु
जुन बतासले
तिम्रो स्पर्शको सुगन्ध बोकेर
मेरो सामु छोडेर जान्छ
म त तिमीलाई होइन
तिम्रो त्यो मनलाई प्रेम गर्छु
तिम्रो त्यो आत्मालाई प्रेम गर्छु
सम्झेर कल्पेका ती पललाई प्रेम गर्छु
रोमियो र जुलिएटको प्रेम त
एकादेशको कहानी भइसक्यो
नयाँ युगको नयाँ प्रेम कहानी रच्नु छ मलाई
त्यसैले त,
जुन प्रेम आजसम्म कसैले गरेकै छैनन्
हो,
म तिमीलाई सबैले गर्नेभन्दा
भिन्न प्रेम गर्छु
मानिसहरू
शरीर प्राप्तिलाई नै प्रेम प्राप्ति भन्छन्
तर,
मनले मनलाई गरेको माया,
आँखाले आँखालाई गरेको माया,
तिनीहरुलाई के पत्तो !
यादले यादलाई गरेको
मायामा डुब्नु जस्तो मज्जा

जहाँ टुट्ने, फुट्ने अनि छुट्ने
कुनै डर नै रहँदैन
न कुनै स्वार्थ हुन्छ,
न त कुनै छलकपट नै
हो, म त्यस्तो मायामा हराउन चाहन्छु ।

जसरी
बातीमा तेल हराउँछ,
बालुवामा पानी हराउँछ,
बादलमा जुन हराउँछ
थाहा छ तिमीलाई आजभोलि
प्रेमलाई सोकेसमा राखेर प्रदर्शन गर्ने गर्छन्,
भौतिक सुखको तराजुमा जोख्ने गर्छन्,
तर म त तिमीलाई
कसैलाई थाहै नदिइकन
खुसुक्क प्रेम गर्छु
अनि मेरो मनको आँखाले चियाएर हेर्ने गर्छु
जहाँ मेरो कल्पनाको संसारमा
मात लाग्दो हाँसो हासिरहेकी हुनेछौ
त्यही हाँसोको एक प्यालाले मात्रै पनि मलाई मोहित पार्छ
त्यसैले त म तिमीलाई
मेरो मुटुको चारै कुनामा राख्ने गर्छु
जहाँ धड्किरहेकी हुनेछौ
अंक गणितको हिसाबले पनि नभ्याउने गरी
जुन धड्काइले मैले नयाँ जीवन पाउँछु
जुन दिन तिमी धड्किन छोड्नेछ्यौ नि !
हो,
त्यसै दिन मेरो जीवनको पनि अन्त्य हुनेछ

भाग्यलाई चुनौती दिँदै
म तिमीलाई युग युगान्तरसम्म
बेपर्वाह प्रेम गरिरहनेछु
एकोहोरो प्रेम ….!

भरतपुर महानगरपालिका – १ दियालो रोड, नारायणगढ, चितवन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library