चितवन, २ फागुन ।
गजलकार बालकुमारी घिमिरे गजलिकाको गजलसङ्ग्रह `तलतल´ विमोचन भएको छ ।
गजल मञ्च चितवनले शनिबार बालकुमारी कलेज नारायणगढमा आयोजना गरेको प्रणय दिवस विशेष कार्यक्रमका प्रमुख अतिथि उषा शेरचन, विशिष्ट अतिथि रमेश शुभेच्छु, गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासलगायतले कृति विमोचन गर्नुभएको हो ।
विमोचनपछि कृतिमाथि टिप्पणी राख्दै रमेश शुभेच्छुले डायस्पोरिक चेतनाबाट हेर्न मिल्ने भाव गजलमा भएको बताउनुभयो । `प्रवासमा बस्ने नेपालीलाई आफ्नो देशको माया धेरै हुन्छ । राष्ट्र र राष्ट्रियताका भाव गजलमा आएका छन्´, शुभेच्छुले भन्नुभयो ।
भुँडीपुराण पब्लिकेसन्सबाट प्रकाशित तलतल गजलसङ्ग्रहमा १११ वटा गजल छन् । घिमिरेका यसअघि `निभेको लालटिन´ गजलसङ्ग्रह, `साधना´ संयुक्त गजलसङ्ग्रह, `कादम्बिनी´ चारु संयुक्तसङ्ग्रह र `लयबद्ध गीत´ संयुक्तसङ्ग्रह प्रकाशित छन् । गजलकार घिमिरेको जन्म इलाममा भएको हो भने कर्मघर चितवन हो । घिमिरे ११ वर्ष अगाडिदेखि अमेरिकामा बस्दै आउनुभएको छ ।
यसै कार्यक्रममा प्रेमिल गजलवाचन पनि भएको छ । गजलकार बालकुमारी घिमिरेसँगै कृष्ण विश्वकर्मा सतिसाल, विधान पौडेल र रामलाल कुमालले ५/५ वटा गजल प्रस्तुत गर्नुभएको जानकारी कार्यक्रम संयोजक सिम्रन क्षेत्रीले दिनुभयो ।




