चितवन, २ फागुन ।
माधवपुर मठमन्दिर तथा धार्मिक संघ–संस्था समन्वय समिति, रत्ननगर–१५, माधवपुर, चितवनको आयोजनामा सम्पन्न ‘राष्ट्रिय भजन तथा शङ्खवादन प्रतियोगिता–२०८२’ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । गत माघ २४ गते सम्पन्न कार्यक्रमको शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको हो ।
समितिका अनुसार कार्यक्रममा कुल रु. ६ लाख ९१ हजार नगद सहयोग संकलन भएको थियो भने कार्यक्रम सञ्चालनका लागि रु. ५ लाख ८९ हजार खर्च भएको जानकारी दिइएको छ । यससँगै कार्यक्रमबाट रु. १ लाख २ हजार बचत भएको जनाइएको छ । आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न विभिन्न व्यक्ति, संघ–संस्था तथा सहयोगीहरूबाट महत्वपूर्ण सहयोग प्राप्त भएको थियो ।
पत्रकार सम्मेलनमा रत्ननगर–१५ का वडाध्यक्ष आसिक तामाङ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा वडा सदस्यहरू ईमप्रसाद पन्त, लिकादेवी पोखरेल, रुकमाया परियार लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संघ–संस्थालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
समितिका अध्यक्ष मुक्तिप्रसाद लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा मूल आयोजक समिति सदस्य भूबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए भने समिति सल्लाहकार कृष्ण पन्तले कार्यक्रम सञ्चालन गरेका थिए ।
यसअघि माधवपुर खेलकुद विकास समितिको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा भजनतर्फ ७ जिल्लाका १८ समूहको उल्लेखनीय सहभागिता रहेको थियो भने शंखवादनतर्फ विभिन्न जिल्लाबाट २१ जना प्रतियोगी सहभागी भएका थिए ।
आयोजक समितिको विश्वास अनुसार कार्यक्रमले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ ।



