संगीत र साहित्यमा सक्रिय निर्दोष जीवनको ‘प्रेमको सुगन्ध’ सार्वजनिक

भरतपुर, १ फागुन ।
लेखक निर्दोष जीवनको नयाँ कृति `प्रेमको सुगन्ध´ सार्वजनिक भएको छ । गजल मञ्च चितवनले प्रकाशन गरेको कृति एक समारोहबीच शुक्रबार गैंडाकोटमा विमोचन गरिएको हो । काव्य काफिया र वि फाइभको संयुक्त आयोजनामा द नारायणी रिसोर्टमा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार उषा शेरचन, काव्य काफियाका संयोजक रामकृष्ण अनायास, गैंडाकोट नगरपालिका -१ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी र अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले कृति विमोचन गर्नुभएको हो ।

कृति विमोचनपछि गैंडाकोट नगरपालिका – १ का वडा अध्यक्ष एवम् कार्यक्रमका विशिष्ट अतिथि सुरेन्द्रप्रसाद रेग्मीले प्रेमले सबैलाई एकताको सूत्रमा बाँड्ने बताउनुभयो । `प्रेमले मानिसलाई एकताको सूत्रमा जोड्छ । प्रेम दिवसको अवसरमा आएको यो कृतिले सबैलाई प्रेममा समाहित हुन प्रेरित गर्छ´, रेग्मीले भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि उषा शेरचनले साहित्य संसारमा मुक्तक विधाको विशिस्ट योगदान रहेको बताउनु भयो । `निर्दोष जीवन साहित्य सिर्जनामा सक्रिय भएर लाग्नुभएको छ । उहाँका मुक्तकहरू साँच्चिकै सुन्दर छन्´, शेरचनले भन्नुभयो ।

त्यसैगरी अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले निर्दोष जीवनका मुक्तकहरू सरल र लयबद्ध भएको बताउनुभयो । `प्रेमको सुगन्धमा मुक्तकहरूको विविधता छ´, सापकोटाले भन्नुभयो – `सङ्ग्रहमा प्रेमिल मुक्तकहरू यथेष्ट छन् । सामाजिक विषयवस्तुका मुक्तक पनि छन् । राष्ट्र र राष्ट्रियतालाई सम्बोधन गरिएका मुक्तक पनि छन् । नारी जातिका दु:ख, पीडा समेटिएका मुक्तक पनि छन्, संरचनाका हिसाबले सबै मुक्तक राम्रा छन् ।´ सापकोटाले सङ्ग्रहबाट केही मुक्तक प्रस्तुत गर्दै ती मुक्तकको बारेमा चर्चा गर्नुभयो । उहाँले मुक्तककार निर्दोष जीवन बहुमुखी प्रतिभा भएको बताउँदै उहाँको साहित्यिक सक्रियताको चर्चा गर्नुभयो ।

मुक्तककार निर्दोष जीवनले प्रेमकै प्रसङ्गमा प्रसिद्ध लेखक पावललाई सम्झिनुभयो । लेखक पावलले आफ्नो पुस्तकमा प्रेमको विषयमा खुलेर लेखेको निर्दोषले बताउनुभयो । यी हरफहरुलाई हृदयदेखि मनन गर्न अनि जीवनमा लागू गर्न सकियो भने साँच्चै जीवनमा प्रेमको सुगन्ध रहिरहने निर्दोषले बताउनुभयो । `कहिल्यै पनि प्रेमको मिठासको अन्त हुनेछैन । प्रेम सधैं अमर रहिरहने छ ।´, पावलको प्रेम परिभाषालाई उधृत गर्दै निर्दोषले भन्नुभयो – ´प्रेम सहनशील हुन्छ र दयालु हुन्छ । प्रेमले डाह गर्दैन, न शेखी गर्छ । प्रेम हठी हुँदैन, न ढीट हुन्छ । प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन । प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ । प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ ।
प्रेमको कहिल्यै अन्त्य हुँदैन । अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ । तर प्रेम सधैं रहिरहने छ ।´

साहित्य लेखनसँगसँगै गायन र संगीतमा रुचि राख्ने निर्दोष जीवन तीनवटै विधामा सक्रिय हुनुहुन्छ । गीत र मुक्तकबाट साहित्य लेखन सुरु गर्नुभएका निर्दोष जीवनको `आशीर्वाद´ (गजल, मुक्तक र हाइकूसङ्ग्रह) पहिलो कृति हो । `नयाँ जीवन´, `प्रार्थना´, `मैयाँ´, `कोर्राको चोट´, `फस्ट लभ´, `प्रिय साथी´, `मेरो गीत´ र `नोष्टाल्जिया´ गरी ९ वटा कृति प्रकाशित भैसकेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट