धनकौल (सर्लाही), १ फागुन ।
गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा सर्लाही निर्वाचन क्षेत्र नम्बर – ४ को समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
घरदैलो अभियानअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मतदातासँग भेटघाट गर्दै उहाँले स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएपछि गत मङ्गलबार दोस्रोपटक क्षेत्रमा पुग्नुभएका थापा यतिबेला निरन्तर मतदातासँग संवादमा जुट्नुभएको छ । शुक्रबार बरहथवा नगरपालिका र बसबरिया गाउँपालिकाअन्तर्गत निर्वाचन क्षेत्र नम्बर – ४ का विभिन्न वडामा आयोजित भेटघाट कार्यक्रममा उहाँले आगामी पाँच वर्षभित्र क्षेत्रलाई नमूना बनाउने लक्ष्य सुनाउनुभयो ।
“मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये सर्लाही–४ लाई भौतिक पूर्वाधार मात्र नभई शिक्षा र स्वास्थ्यका दृष्टिले पनि उत्कृष्ट बनाउने गरी काम गर्नेछु,” उहाँले भन्नुभयो, “आगामी पाँच वर्षमा यहाँ गर्नुपर्ने विकासका कामबारे विज्ञहरूले दिने सुझाव र योजनाका आधारमा योजनाबद्ध ढंगले अघि बढ्छु ।”
सभापति थापाले कांग्रेससँग देश चलाउने उत्साह र अनुभव दुवै रहेको उल्लेख गर्दै सर्लाहीसहित समग्र देशको नेतृत्वका लागि अवसर दिन मतदातासँग आग्रह गर्नुभयो ।
“देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भन्ने विषयमा ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ । प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन–अनुसन्धान गरिसकेका छौँ । त्यसलाई कार्यान्वयन गर्ने अधिकार देशभरका मतदातासँग छ,” उहाँले भन्नुभयो ।





