चितवनको इतिहास बोकेको ‘बखान’ माथि समीक्षा : विद्यार्थी केन्द्रित कार्यक्रम सम्पन्न

चितवन, १ फागुन ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’ माथि शुक्रबार भरतपुरको आँपटारीमा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । विशेषतः विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा वक्ताहरूले ‘बखान’ उपन्यास चितवनको इतिहासको साक्षीका रूपमा स्थापित भएको धारणा राखे ।

नेपाली लेखक संघ चितवनद्वारा आयोजित ‘पाठकसँग लेखक’ कार्यक्रममा बोल्दै वक्ताहरूले उपन्यासले चितवनको पुरानो समाज, बस्ती विकास र सामाजिक रूपान्तरणलाई सशक्त रूपमा प्रस्तुत गरेको बताए ।

स्मल हेभन स्कूलका विद्यार्थी असिम शिलवालले कृतिमाथि समीक्षा गर्दै सहकारी अभियन्ता एवं समाज सुधारक बखानसिंह गुरुङको जीवनीमार्फत चितवनको इतिहासलाई जीवन्त रूपमा प्रस्तुत गरिएको उल्लेख गरे । “चितवनको इतिहास झल्काउन यो पुस्तक सफल भएको छ,” उनले भने ।

त्यसैगरी, विद्यार्थी बिनिसा दवाडीले ‘बखान’ केवल बखानसिंह गुरुङको जीवनी मात्र नभई चितवनको बस्ती विकासको रूपरेखा प्रस्तुत गर्ने महत्वपूर्ण दस्तावेज भएको बताइन् ।
“उपन्यासले चितवनको इतिहास बोल्छ, समाज बोल्छ,” उनले भनिन् ।

साहित्यकार सुरेन्द्र अस्तफलले पुस्तकले चितवनको बस्ती विकासदेखि सहकारी आन्दोलनसम्मको यात्रा समेटेको बताए। उनका अनुसार कृतिमा वि.सं. २००७ सालदेखि वि.सं. २०४० सालसम्मका आन्दोलन र उपलब्धिहरू समेटिएका छन् ।
“यस पुस्तकले चितवनको इतिहासलाई समग्र रूपमा समेटेको छ,” उनले भने ।

कार्यक्रममा पत्रकार सरिता पौडेलले चितवनका लागि यो कृति ऐतिहासिक दस्तावेजसरह भएको धारणा राखिन् ।
स्मल हेभन स्कूलका प्रधानाध्यापक विमल क्षेत्रीले पुस्तकलाई स्थानीय पाठ्यक्रममा समावेश गरी विद्यार्थीहरूलाई चितवनको इतिहासबारे ज्ञान दिन आवश्यक रहेको बताए ।

नेपाली लेखक संघकी अध्यक्ष शान्ति शर्माले चितवनमाथि गरिएको गहन अध्ययनका कारण उपन्यास सार्थक बनेको उल्लेख गरिन् । साधारण विषयवस्तुलाई समेत गहिरो रूपमा प्रस्तुत गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा लेखक पराजुलीले ‘बखान’ चितवनको इतिहासकै कृति भएको बताए । कक्षा १० देखि १२ सम्म नेपाली र अंग्रेजी विषयको परीक्षामा समेत कृति समीक्षा समावेश हुने भएकाले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई विशेष लाभ पुग्ने उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट