भरतपुर, १९ माघ ।
चितवनमा नेपालमै पहिलोपटक सालक सम्मेलन आयोजना हुने भएको छ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा आगामी माघ २६ गते सालक सम्मेलन गर्न लागिएको हो ।
डिभिजन वन कार्यालय चितवनको व्यवस्थापनमा माडी नगरपालिकामा आयोजना हुने सम्मेलनमा बागमती प्रदेशअन्तर्गतका डिभिजन वन कार्यालय प्रमुखहरू, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, विभिन्न जिल्लाका सामुदायिक वनका प्रतिनिधि तथा संरक्षणकर्मीहरूको सहभागिता रहनेछ ।
डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको वर्तमान अवस्था, संरक्षणका आवश्यकता, देखिएका चुनौती तथा भावी कार्यदिशाका विषयमा विस्तृत छलफल गरिनेछ । सम्मेलनमा संरक्षण क्षेत्रमा सक्रिय विभिन्न सङ्घसंस्था, विज्ञसहित २०० भन्दा बढी सहभागी रहने जनाइएको छ ।
सम्मेलनको क्रममा सालक संरक्षणका लागि ‘माडी घोषणा पत्र’ जारी गरिने तयारी रहेको छ । सालक किसानको साथीका रूपमा परिचित भएकाले यसको संरक्षण अपरिहार्य रहेको आचार्यले बताए ।
राष्ट्रिय निकुञ्ज ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा रहेको सालक हाल लोपोन्मुख अवस्थामा पुगेको छ । यसको संरक्षणका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।
बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले वन्यजन्तु संरक्षण भन्नेबित्तिकै ठूला जनावरलाई मात्र प्राथमिकता दिने प्रवृत्ति रहेको उल्लेख गर्दै साना वन्यजन्तु पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । प्रदेश सरकारले सालक संरक्षणका लागि नीति तथा कार्यक्रम बनाएर काम अघि बढाएको उनको भनाइ छ ।
आगामी वर्षदेखि सालक संरक्षणका कार्यक्रमलाई नियमित रूपमा अघि बढाइने बताउँदै सचिव बरालले केही वर्षपछि सालक हेर्नकै लागि बागमती प्रदेश आउने वातावरण बनाउन यो सम्मेलन महत्वपूर्ण हुने बताए ।
सामुदायिक वन, स्थानीय समुदाय र संरक्षणकर्मीहरूलाई एकीकृत गर्दै सालकको बासस्थान र आहार संरक्षणलाई अभियानका रूपमा अघि बढाइने जानकारी पनि उनले दिए ।





