मकवानपुर, १९ माघ ।
मकवानपुरको कैलाश गाउँपालिकामा अवैध रूपमा गरिएको गाँजा तथा अफिमखेती फँडानी गरी नष्ट गरिएको छ ।
माघ १६ गते शुक्रबारदेखि १८ गते आइतबारसम्म बागमती प्रदेश प्रहरी गण, हेटौंडा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरलगायत मातहत प्रहरी कार्यालयहरूबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले कैलाश गाउँपालिका अन्तर्गत वडा नम्बर १, २, ५, ६, ७ र ८ का विभिन्न स्थानहरूमा अवैध रूपमा गरिएको लागुऔषध खेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
२ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती तथा १२ बिगाहा क्षेत्रफलमा गरिएको अफिम खेती गरी १४ बिगाहा क्षेत्रफल बराबरको लागुऔषध खेती फँडानी गरी पूर्ण रूपमा नष्ट गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यले यस्ता अभियानहरूलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ ।





