चितवन, १८ पुस ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको विषयमा सरकारलाई औपचारिक जानकारी प्राप्त नभएको बताउनुभएको छ ।
शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले उक्त विषयमा औपचारिक जानकारी प्राप्त भएपछि मात्र सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङले लिनुपर्ने निर्णय हुने स्पष्ट पार्नुभयो ।
उहाँले मन्त्री मात्रै नभई कुनै पनि योग्य नागरिकले निर्वाचनमा उम्मेदवारी दिन पाउने अधिकार रहेको उल्लेख गर्दै पद र शक्तिको दुरुपयोग भने गर्न नहुनेमा जोड दिनुभयो ।
मन्त्री खरेलले आफू हाल सरकारका प्रवक्ताका साथै सञ्चारमन्त्रीको जिम्मेवारीमा रहेकाले अहिलेसम्म कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको र निर्वाचन लड्ने वा नलड्ने विषयमा कुनै निर्णय नगरेको जानकारी दिनुभयो ।
उहाँले आसन्न प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाउँदै तोकिएको समयमै निर्वाचन हुनेमा कुनै आशंका नगर्न सबैलाई आग्रह गर्नुभयो ।




