भरतपुर, १५ पुस ।
चितवन साहित्य परिषद् (चिसाप)ले १४२ औँ कविशिरोमणि लेखनाथ जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा कवि एकदेव रिमाल र विष्णुहरि पौडेल सम्मानित हुनुभएको छ ।
कवि रिमाल `चिसो बाकस´ कवितासङ्ग्रहका लागि कृष्ण – कृष्णा साहित्य पुरस्कार – २०८१ र कवि पौडेल `अनुसूया´ महाकाव्यका लागि कृष्ण – कुमारी गुरुङ साहित्य पुरस्कार – २०८१ बाट सम्मानित हुनुभएको हो ।
चितवन साहित्य परिषद्का कार्यवाहक अध्यक्ष गणेश श्रमण र गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले दुबैजनालाई सम्मान गर्नुभएको हो । पुरस्कारको राशि जनही १५०४५/- रुपैयाँ छ ।
कार्यक्रममा सम्मानित स्रस्टा रिमालका बारेमा बालकृष्ण थपलिया र पौडेलका बारेमा केदारनाथ खनालले बोल्नुभएको थियो । कवि शिरोमणि पौडेलको साहित्यिक योगदानका बारेमा गोविन्दगोपाल खतिवडाले चर्चा गर्नुभएको थियो । कार्यक्रममा यमुना न्यौपाने, राजेन्द्र घायल, कृष्णप्रसाद पोखरेल, विनोद अधिकारी र पदम अर्यालले रचना वाचन गर्नुभएको थियो ।





